माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
धरान घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईं बिहान ६ बजे फोहर संकलनका लागि निस्कन्छन् । विगत ३ वर्षदेखि उनको दिनचर्या यसरी नै चलिरहेको छ ।
बिहान ६ बजे मध्यपुरथिमि–५ राधे राधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर गर्यो अनि ट्रयाक्टरमा घरघरबाट फोहर संकलन गर्न निस्कने ।
उनी मात्रै होइन, उपत्यकामा फोहर संकलनको मुख्य जिम्मेवारी निर्वाह गर्दै आएको निजी कम्पनी नेप्सेम्याकको भक्तपुरस्थित शाखा कार्यालयमा फोहर संकलनमा खटिने ६९ जनाको दिनचर्या यसैगरी बित्छ । सामान्य मास्क र पञ्जा त छ नै तर फोहरबाट हुनसक्ने संक्रमण रोक्ने कपडा भने छैन । न घाम, न पानी, न चाडपर्व । कुनै पनि कठिनाइको प्रवाह नगरी निरन्तर नगर सफा बनाउन लागि परेका सफाइकर्मीको जीवन भोगाइ भने पीडादायी छ ।
कोरोना महामारीको समयमा सरकारले ‘लकडाउन’ गर्यो, सो समयमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित भए । सबै नागरिकलाई घरभित्रै सीमित गरियो तर अत्यावश्यक सेवा मानिएको फोहर संकलन र व्यवस्थापनमा कुनै रोकतोक भएन । फोहर संकलनका लागि घरघर पुग्दा उल्टै आफूहरूमाथि कोरोना संक्रमण लिएर आएको भन्दै दुव्र्यवहार गर्ने गरेको थुप्रैको दुखेसो सहितको तीतो अनुभव छ ।
घर, टोल, यत्रतत्र छरिएका फोहरको व्यवस्थापन गरेर शहरलाई स्वच्छ र सुन्दर बनाउने सफाइकर्मीमाथि गरिने हेला र तिरस्कारले मावन सभ्यतालाई नै गिज्याइरहेको उनको गुनासो छ । फोहर संकलनमा खटिनेमाथि गरिने दुर्व्यवहारले नेपालीको पहिचानका रूपमा स्थापित हार्दिकतालाई चुनौती दिएको छ । गुरागाईं भन्छन्, ‘बिहान उठेर कोठामा चिया खाएर खानाको पोको बोकेर कार्यालय आउँछौं, खाना त्यही राखेर आफ्नो क्षेत्रमा फोहर संकलन गर्न हामी निस्कन्छौं । टोल बस्तीमा सिठ्ठी फुक्दै जान्छौं, फोहर घर बाहिर निस्कन्छन्, हामी टिपेर ट्रयाक्टर, ट्रकमा हालेर ल्याउँछौं, यो हाम्रो दिनचर्या नै हो ।’
फोहर संकलनमा बिहान भोकै निस्कने श्रमिक फोहर संकलन गर्ने क्रममै भोकै हुन्छन् । फोहर संकलनका क्रममा खाजा खाने अवस्था पनि रहँदैन । गुरागाईंका अनुसार फोहर लिएर कार्यालयमा आएपछि बल्ल खानाको मेसो मिल्छ । कहिले त सडक जाम हुँदा फोहर लिएर आइपुग्दै दिन बित्छ, त्यतिखेरसम्म भोकै बस्नुपर्छ । ‘तर सभ्य मानिसको असभ्य व्यवहार देखेर दिक्क लाग्छ,’ उनले भने ।
दोलखा घर भई कमलविनायक बस्दै आएका ३१ वर्षीय भीमकुमार थामीका अनुसार सफाइकर्मी श्रमिक बिहान ६ बजे आ–आफ्नो तोकिएको क्षेत्रमा फोहर संकलनका लागि गइसक्छन् । कतिपय ठाउँको फोहर धेरै हुँदा दोहोर्याएर जानुपर्छ । फोहर संकलनमा जाँदा अलि ढिला भयो भने कतिपयले अभद्र व्यवहार गर्न भ्याइहाल्छन् । थामी भन्छन्, ‘सभ्य समाजका सभ्य मानिस हजुर तर हामीप्रति कोहीकोही त साह्रै असभ्य व्यवहार गर्छन् । फोहर उठाउने मानिस त मानिस नै होइनन्, यी तल्लोस्तरकै हुन् भन्ने व्यवहार गर्दा कहिलेकाहीँ यो मन साह्रै दुख्छ ।’
उनलाई फोहारको गन्धले भन्दा पनि घरधनीको व्यवहारले मन पोल्छ ।
विगत ५ वर्षदेखि फोहर संकलन गर्दै आएका भोजपुर घर भई निकोसेरा बस्ने तीलकबहादुर रम्तेल फोहर संकलन गर्दा होस् वा फोहर बोकेर फर्कने क्रममा होस् सभ्य र शिक्षित मानिसको अशिक्षित व्यवहारबाट प्रताडित हुन्छन् । उनी भन्छन्, ‘फोहर बोकेर फर्केको गाडीलाई अरु निजी गाडीले बाटो दिँदैनन्, हेप्छन् हामीलाई । फोहरमा काम गर्ने मानिस त मानिस नै हैन जस्तो गर्छन्, कतिले त मुखै छाडेर गाली गर्छन् । तैपनि हामी सहेर काम गर्छौं, उनीहरूसँग केही बोल्दैनौं ।’
विगत १० वर्षदेखि फोहर संकलनकै काम गर्दै आएका इलाम घरभई कटुञ्जे बस्ने ३९ वर्षीय जीवन राईको गुनासो पनि उस्तै छ । फोहर मैलामा काम गर्ने पनि फोहरी हुन् भन्ने व्यवहार गर्ने गरेको भन्दै कतिपयले खाउँलाझै गरेर गाली गर्ने गरेको घटना सुनाए ।
ओखलढुंगा घर भई नेप्सेम्याकको कार्यालयमै बस्दै आएका ठगबहादुर दर्जी खान हुने र नहुने छुट्याएर खान सक्ने तर कुहिने र नकुहिने फोहर छुट्ट्याउन किन नसकेका होलान् भनी अचम्मित हुन्छन् । कतिपयले कुहिने र नकुहिने फोहर एकै ठाउँमा राखिदिन्छन् । कतिपयले भने घरभित्रको फोहर सडकमा ल्याएर फालिदिन्छन् ।
‘फोहार छरेर राखिदिने, कुहिने र नकुहिने नछुट्याउने, फलाम, सीसा समेत एकै ठाउँमा राखिदिने फोहरको संकलन र व्यवस्थापनमा जोखिम हुने गरेको छ,’ उनले भने ।
मानिसले घर अगाडि जथाभाबी फोहर राखिदिँदा कतिपय ठाउँमा कुकुरले छरेको फोहर समेत टिप्नुपर्ने उनको गुनासो छ । बधशालाका फोहर र हड्डीको व्यवस्थापनमा पनि समस्या छ । ती फोहर जथाभावी गरिदिँदा संकलनमा पनि कठिनाइ आइरहेको सफाइकर्मीको भनाइ छ । भान्छामै कुहिने र नकुहिने फोहरको वर्गीकरण गरेर नागरिक दायित्व पूरा भइदिए फोहर संकलन र व्यवस्थापनमा कुनै समस्या नआउने दर्जीको बुझाइ छ ।
काम असमान्य, सुविधा सामान्य !
फोहर संकलन र व्यवस्थापनको काम निकै संवेदनशील हो । सफाइकर्मी विविध प्रकृतिको फोहरसँग दिनहुँ जुध्नुपर्छ । फोहरबाट अनेकौं रोगका संक्रमण हुन सक्ने उत्तिकै सम्भावना हुन्छ । सफाइ मजदूरले उचित सावधानी अपनाउनुपर्ने हुन्छ ।
व्यवसायजन्य रोगको सम्भावनालाई नकार्न सकिँदैन । सफाइकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरणको पर्याप्त व्यवस्था हुनुपर्छ तर उपत्यकाका सफाइ श्रमिक सामान्य स्वास्थ्य सुरक्षाको प्रबन्धबीच फोहर व्यवस्थापन गर्न बाध्य छन् ।
उपत्यकाभित्र काठमाडौं महानगरपालिकाका सबैभन्दा धेरै सफाइ श्रमिक छन् । कामपामा सरकारी ६०० र निजी क्षेत्रका ३ हजार बढी सफाइकर्मी दिनरात नभनी सफाइमा जुटिरहेका छन् तर उनीहरूले पाउने सेवा सुविधा भने सीमित छ । कामपाले फोहर व्यवस्थापनसँग सम्बन्धित कर्मचारीलाई स्थायी कर्मचारी सरहका सेवासुविधा उपलब्ध गराइएको जनाएको छ । महानगरले त्यसबाहेक वार्षिक ३ महिनाको अतिरिक्त तलब उपलब्ध गराउँछ । फोहर व्यवस्थापनमा संलग्न सम्पूर्ण कर्मचारीको जीवन बीमा समेत गरिएको छ ।
उपत्यकाको फोहर व्यवस्थापनमा संलग्न निजी क्षेत्रमध्येको ठूलो कम्पनी नेप्सेम्याक सफाइ श्रमिकलाई उचित सेवासुविधा दिइएको दाबी गर्छ । नेप्सेम्याकका शाखा प्रबन्धक बाबुराम चौलागाई फोहर संकलनमा संलग्नलाई उचित पारिश्रमिकका साथै बिरामी, साप्ताहिक, सुत्केरी, किरिया बिदाका दिइएको बताउँछन् । नेप्सेम्याकले त्यस्ता श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराएको छ । त्यसका अतिरिक्त फोहर संकलनमा जाँदा बिरामी भए उपचार गरिदिने, बुठ, पञ्जा, मास्कको व्यवस्था गरेको कामदार बताउँछन् । कर्मचारीलाई कम्तीमा मासिक रु २१ हजारका दरले तलब र आठ घण्टाभन्दा बढी समय काम गरेमा अतिरिक्त भत्ता दिन्छ ।
कुहिने र नकुहिने फोहर छुट्याएर राखिदिए संकटको बेलामा पनि कुहिने फोहर संकलन गरेर लैजान सकिने र नकुहिने फोहर २ महिनासम्म घरमै राख्न सकिने चौलागाईंको भनाइ छ । नेप्सेम्याकले यसतर्फ काम गरिरहेको छ ।
सम्बन्धित पालिकाले नै ल्याण्डफिल साइडको व्यवस्था गरेर जथाभावी फोहर फाल्नेलाई कारबाही गर्ने र सफा टोल बस्तीलाई नमूना बनाउन नागरिकलाई प्रेरित गरे फोहर व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । कुहिने फोहरलाई घरमै कम्पोष्ट मल बनाएर खेतीबारी, कौशी खेती, फूलको गमलामा प्रयोग गर्न सकिन्छ । फोहरलाई मोहरमा रूपान्तरण गर्ने तालिम र प्रोत्साहनका कार्यक्रम ल्याउन स्थानीय सरकारसँग समन्वय गरिरहेको उनले बताए ।
सूर्यविनायकको मनोरम प्रगति बस्तीका १ हजार घरले कुहिने र नकुहिने फोहर छुट्याएर फोहर व्यवस्थापनमा नमूना प्रस्तुत गरेका छन् । त्यहाँका प्रत्येक घरलाई वार्षिक ५ किलो कम्पोष्ट मल निःशुल्क दिने गरेको र त्यही नमूनालाई अन्यत्र लैजाने प्रयास भइरहेको छ । भक्तपुरका ग्रामीण क्षेत्रका कुहिने फोहरलाई घरघरमा र स्थानीयस्तरमा कम्पोष्ट मल बनाएर व्यवस्थापन गर्ने गरी तालिम तथा अनुदानका लागि कार्यक्रम अगाडि सारिएको छ ।
नेप्सेम्याकका कार्यक्रम संयोजक गोविन्दप्रसाद आचार्यले आफ्नो कम्पनीमा मात्रै फोहर संकलनमा ६९ जना, सडक सफाई गर्ने ४ महिला र अन्य कर्मचारी गरी १०० भन्दा बढी जनशक्ति भक्तपुरमा परिचालन गरिएको बताए । नेप्सेम्याकले सूर्यविनायक नगरपालिकामा ८ हजार ६९, चाँगुनारायण नगरपालिकामा २ हजार ९६९, मध्यपुरथिमि नगरपालिकामा ३ हजार ९२४, भक्तपुर नगरपालिकामा ४१ गरी भक्तपुर जिल्लामा मात्रै १५ हजार २०० घरबाट फोहर संकलन गर्ने गरेको छ ।
नेप्सेम्याकले दैनिक रूपमा सूर्यविनायक नपाबाट ३०, चाँगुनारायण नपाबाट २० र मध्यपुरथिमि नपाबाट २५ टन फोहर संकलन गर्दै आएको छ । अन्य संस्थाले करीब ७० टन गरी दैनिक १५० टन फोहर संकलन गर्दै आएका छन् । संस्थाले १ हजार ३०० घरबाट छुट्टिएका कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने गरेको र मासिक ८ टन मल उत्पादन हुने गरेको उनी बताउँछन् ।
फोहर संकलनका लागि प्रतिघरबाट संख्याको आधारमा मासिक २५० देखि ४५० रुपैयाँसम्म शुल्क लिने गरेको छ ।
फोहर संकलनमा निजीकै भर, नियमनमा कठिनाइ
उपत्यकाका अधिकांश नगर फोहर संकलनमा निजी क्षेत्रकै भरमा छन् । सबैभन्दा धेरै निजी क्षेत्रलाई सहभागिता गराएको काठमाडौं महानगरपालिकाले फोहर संकलन गर्ने नीति क्षेत्रसँग कुनै सम्झौता गरेको छैन । सफाइसँग सम्बन्धित निजी क्षेत्रले आ–आफ्नै पहलमा क्षेत्र तोकेर फोहर संकलन गर्ने गरेका छन् । सम्झौता नहुँदा ती संस्थाको कामकारबाहीको नियमनमा समस्या देखिएको छ ।
फूलबारीले सूर्यविनायक मध्यपुरथिमिबाट ८ हजार ५००, स्वच्छ वातावरण सिर्जना केन्द्रले ३ वटै नपाबाट ५ हजार ५००, विन्दवासिनी स्यानेटेरी प्रालिले १ हजार १००, सिर्जनशील सेवा प्रालिले मध्यपुरथिमिबाट ५०० र दिव्यश्वरी सहयोगी हातले मध्यपुरबाट २ हजार घरबाट फोहर संकलन गर्दै आएको छ । भक्तपुर जिल्लामा निजी कम्पनी र नगरपालिकाको फोहर संकलक, कुचिकार र अन्य गरी करीब ८०० मजदुरले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको निजी कम्पनीको दाबी छ ।
मध्यपुरथिमि नगरपालिकाका सामाजिक सेवा शाखाका प्रमुख तुलसीभक्त तकोले मध्यपुरथिमिको फोहर नेप्सम्याक लगायत संस्थाले संकलन गर्दै आएको र केही ठाउँमा नगरपालिका आफैंले पनि संकलन गर्ने गरेको बताउँछन् । मध्यपुरमा ४ पुरुष र १४ महिला गरी १८ जना सफाई मजदुर र २ जना फोहर संकलक परिचालित छन् ।
सूर्यविनायक नगरपालिकाले भने निजी क्षेत्रलाई फोहर व्यवस्थापनको जिम्मेवारी दिएको छ । नगरपालिका आफैंले फोहर व्यवस्थापन गर्नेबारे छलफल भइरहेको प्रवक्ता रवीन्द्र सापकोटाको भनाइ छ । चाँगुनारायण नगरपालिका पनि फोहर व्यवस्थापनमा निजी कम्पनीकै भर परेको छ । त्यसैले सूर्यविनायक र चाँगुनारायणले सफाइ मजदुरको व्यवस्था गरेको छैन ।
भक्तपुर नगरपालिकाले भने कुचिकार र सफाइ मजदुरलाई कर्मचारीकै रूपमा राखेर हरेक दिन बिहान सफाइ गर्ने र संकलित फोहर आफ्नै नगर क्षेत्रमा व्यवस्थापन गर्दै आएको छ । – अशोक घिमिरे, रमेश गिरी/रासस
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...