२७ जेठ २०८३, बुधबार

१९ वर्षमा २८ करोड सकिँदा पनि तयार भएन मूलपानी क्रिकेट रंगशाला, नयाँ टेन्डरको गृहकार्य [भिडियो]

साउन २५, २०७९
१९ वर्षमा २८ करोड सकिँदा पनि तयार भएन मूलपानी क्रिकेट रंगशाला, नयाँ टेन्डरको गृहकार्य [भिडियो]

निर्माण शुरू भएको १९ वर्ष पुग्दा र २८ करोड बजेट सकिँदा पनि मूलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित २०६० सालमा ठेक्का सम्झौता भएको रंगशालाको काम झण्डै २ दशक बित्न लाग्दा पनि अलपत्र अवस्थामा रहेको हो ।

सरकारले बर्सेनि धेरथोर बजेट छुट्ट्याउँदै आए पनि काम भने जहाँको त्यहीँ छ । करीब १३ हजार दर्शक क्षमतामा निर्माण गरिने प्याराफिटको काम कछुवाको गतिमा अगाडि छ ।

मूलपानीमा दुईवटा क्रिकेट मैदान निर्माणाधीन अवस्थामा छन् ।

माथिल्लो मैदान क्यान आफैंले निर्माण गरिरहेको छ भने तल्लो मैदानमा प्याराफिटसहितको रंगशाला निर्माणको काम राष्ट्रिय खेलकुद परिषदमार्फत सरकार आफैंले गरिरहेको छ ।

विभिन्न समस्याका कारण निर्माण कार्यमा अपेक्षित प्रगति हुन नसकेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताए ।

'हामीले गत वर्ष पनि जति खर्च गर्न चाहेका थियौं, त्यति खर्च भएन । निर्माण व्यवसायीलाई पटक–पटक बोलाएर काम गर्न ताकेता गर्दा पनि नटेरेको अवस्था छ,' घिसिङले लोकान्तरसँग भने, 'पहिले कोरोना महामारी र पछि चुनावमा भोट हाल्न कामदार गाउँ गएकाले पनि काममा ढिलाइ भएको अवस्था छ ।'

अहिलेसम्म टुक्राटुक्रामा ठेक्का लगाएर २८ करोड खर्च भएको घिसिङले बताए ।

'अहिलेसम्म टुक्रा–टुक्रामा काम भइरहेको छ । यो काम २८ करोड हाराहारीको हो। समग्र काम सम्पन्न गर्नका लागि छुट्टै टेन्डर निकाल्न आवश्यक छ । त्यसका लागि समेत राखेप तयारीमा जुटिराखेको छ,' घिसिङले थपे ।

नेपाल सरकारले यसै आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने भनेर आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको तथा आवश्यक बजेट समेत उपलब्ध गराएको राखेपले जनाएको छ ।

उक्त रंगशाला निर्माण सम्पन्न गरिसकेपछि क्यानलाई हस्तान्तरण गरिने क्यानका प्रबन्ध निर्देशक वृत्तान्त खनालले बताए ।

माथिल्लो क्रिकेट मैदान भने क्यान आफैंले निर्माण गरिरहेको छ । आउँदो अक्टोबरमा एक लेभलको खेल सञ्चालन गर्ने लक्ष्यसहित क्यानले निर्माण कार्य अगाडि बढाएको छ ।

मैदान निर्माणको काम अगाडि बढिरहेको क्यानका प्रबन्ध निर्देशक वृत्तान्त खनालले जानकारी दिए ।

क्रिकेट मैदानका लागि बजेट जुटाउन आईसीसीसँग पनि कुरा अगाडि बढेको खनालले बताए ।

'केही महिनाअगाडि आईसीसीका पदाधिकारीहरू आई निरीक्षण गरेर यसको निर्माणका लागि लगानीको वातावरण बनाइदिने वाचा गर्नुभएको छ,' उनले भने ।

माथिल्लो मैदानलाई क्रिकेट एकेडेमीका रूपमा विकास गर्ने गरी कुरा अगाडि बढेको र लगानीका लागि एसियन क्रिकेट काउन्सिलसँग पनि कुराकानी भइरहेको खनालले जानकारी दिए ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्