×

NMB BANK
NIC ASIA

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उम्मेदवार नहुने चलन पनि छ । यसलाई शक्तिप्रतिको आशक्ति नभएको प्रमाणका रूपमा लिने गरिन्छ । अहिले वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । १९२२ कमिटीमार्फत नयाँ पार्टी नेताको चयन प्रक्रिया थालनी भइसकेको छ ।

Muktinath Bank

राजीनामा पूर्व पदमा बसिरहन बोरिसले जुन प्रयासहरू गरे, त्यसलाई धेरैले अटेरीको रूपमा व्याख्या गरिएको थियो तर अविश्वास प्रस्ताव सामना गर्न सफल भएपछि थपिएको नयाँ समस्या र आफ्नै मन्त्रिमण्डलका महत्त्वपूर्ण धेरै मन्त्रीहरूले राजीनामा दिएपछि राजीनामा दिन बाध्य हुन पुग्यो । अहिले नयाँ प्रधानमन्त्रीका लागि यसअघि बोरिससँग प्रतिस्पर्धामा उत्रेका साबिद जाबेद र अन्तिम चरणमा पुगेर हारेका जेरेमीहन्ट यसपालि पनि उम्मेदवार बनेका थिए तर धेरै अगाडि आउन सकेनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेतृत्व चयनको अन्तिम चरणमा उनकै मन्त्रिमण्डलका अर्थ र विदेशमन्त्री उभिएका छन् । आउँदो सेप्टेम्बर ५ का दिन नवनिर्वाचित हुने प्रधानमन्त्री कि त भारतीय मूलका पहिलो वा तेस्रो महिला हुनेछ । भारतीय मूलको प्रसंगमा सन् १८१२–२७ सम्म प्रधानमन्त्री बनेका लर्ड लिभरपुल अर्थात् रोबर्ट बैंक्स जेनकिन्सनका बुवा चार्ल्स जेन किन्सन राजा जर्ज तेस्रोका सल्लाहकार थिए । उनकी आमा अमेलिया वाट्स एक ईस्ट इण्डिया कम्पनी अधिकारीकी भारतीय छोरी थिइन्, जसलाई इतिहासमा बेगम जोह्न्सनको नामले चिनिन्छ । तसर्थ रोबर्टको आंशिक पूर्खा भारतीय हो भन्न पनि सकिन्छ तर यो विषय के कति कारणले हो ? त्यति प्रचारमा आउने गरेको छैन ।


Advertisment
Nabil box
Kumari

३०० वर्षको इतिहासमा बेलायतमा ५७ जना प्रधानमन्त्रीले शासन गरेका छन्, तीमध्ये २ जनाबारे भने इतिहास त्यति स्पष्ट छैन । द अर्ल अफ बाथ र द अर्लवाल्डे ग्रेभले क्रमशः सन् १७४६ र १७५७ को फेब्रुअरी १०–१२ र जुन ८–१२ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए तर त्यसलाई निरन्तरता भने दिन सकेनन् । 

Vianet communication
Laxmi Bank

संसदीय प्रजातन्त्रको जननी मानिने यो देशमा हालसम्म केवल २ महिला मात्रै प्रधानमन्त्री बन्न सफल भएका छन् । तेस्रो महिलाले पुनः मौका पाउने सम्भावना देखिन्छ तर त्यसको लागि सेप्टेम्बर ५ सम्म कुर्नपर्नेछ । मार्गरेट थ्याचरले सन् १९७९–९० सम्म ११ वर्ष २०८ दिन र थेरेसामेले २०१६–१९ सम्म ३ वर्ष ११ दिनसम्म पदभार सम्हालेका थिए तर दुवै महिला प्रधानमन्त्रीले आफ्नै सांसदहरूको असहयोगका कारण पद छाड्न बाध्य भएका थिए ।

शैक्षिक योग्यताको आधार हेर्ने हो भने २ जना ड्युक अफ डेभोनशायर (सन् १७५६–५७) र जोन मेजर (सन् १९९०–९७) ले बाहेक अन्य सबै प्रधानमन्त्रीहरूले विश्वविद्यालयको उच्च शिक्षा हासिल गरेका थिए । २१ प्रधानमन्त्रीहरूले इटन कलेज र ७ जनाले ह्यारो स्कूलबाट विद्यालय स्तरको र सबैभन्दा बढी २८ जनाले अक्सफोर्ड र १४ जनाले क्याम्ब्रिज विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका हुन् । त्यस्तै ११ जना ब्यारिस्टरहरू प्रधानमन्त्री बनेका थिए । तीमध्ये ८ जना लिंकन इन, २ जना इनर टेम्पल र १ जना मिडल टेम्पलका हुन् ।

सन् १८०९ देखि १८१२ सम्म प्रधानमन्त्री भएका स्पेन्सर पर्सेभल हत्या हुने एक मात्र बेलायती प्रधानमन्त्री हुन् । त्यसो त बेलायतको राजनीतिक इतिहासमा केही प्रधानमन्त्रीहरूलाई हत्या गर्ने प्रयासहरू भएका छन् । लर्ड लिभर पूल, सर रोबर्ट पील, मार्गरेट थैचर र जोन मेजरलाई क्रमशः १८२०, १८४३, १९८४ र १९९१ मा हत्या गर्ने असफल प्रयास गरेका थिए । पदबाट हटेलगत्तै एडवर्ड हीथमाथि सन् १९७४ मा हत्या प्रयास भएको थियो । १ मे १८१२ मा एक व्यापारी जोन बेलिंघमले वेस्ट मिनिस्टरको संसदीय लबीमा प्रम स्पेन्सर पर्सेभलको छातीमा गोली हानेर हत्या गरेको थियो । बेलिंघमलाई व्यापारको सिलसिलामा रसियामा पुग्दा गैरकानूनी ढंगबाट कैदमा राखिएको थियो । छुटकारा पाएर देशमा फर्केपछि रसियन सरकारसँग क्षतिपूर्ति माग गर्न आफ्नो सरकारसमक्ष निवेदन गर्दा इन्कार गरेको हुँदा त्यो अन्यायविरुद्ध प्रमको हत्या गरेको उनको स्वीकारोक्ति थियो । उनलाई सोही अभियोगमा १ हप्तापछि मे १८ मा फाँसी दिइएको थियो । पर्सेभलको सम्झना र सम्मान स्वरूप वेस्ट मिनिस्टर एबीमा स्मारकको प्रतिस्थापन गरिएको छ । उनी र उत्तरी आयरल्याण्डका ६ सहित हालसम्म ११ सांसदहरूको हत्या भएका छन् ।

सबैभन्दा लामो समयसम्म सेवा गर्ने बेलायती प्रधानमन्त्री सर रोबर्ट वालपोल थिए, जसले १७२१ देखि लगातार २० वर्ष ३८४ दिन शासन गरेका थिए । १९४५ पछि भने सबैभन्दा लामो समय मार्गरेट थ्याचरले १९७९ देखि र १९९० सम्म सेवा गरे । सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री जर्ज क्यानिङ हुन्, जो केवल ११९ दिन मात्रै टिकेका थिए । ४ पटक प्रधानमन्त्री बनेका विलियम ग्लाड स्टोन सबैभन्दा वृद्ध प्रधानमन्त्री थिए । उनको अन्तिम कार्यकाल १८९४ मा उनी ८४ वर्ष पुगेका थिए । सबैभन्दा कम २४ वर्षको उमेरमा विल्लियम पिट द योंगर बेलायतको प्रधानमन्त्री पहिलोपटक सन् १७८३ मा बनेका थिए । उनले १७ वर्ष ८६ दिन शासन गरेका थिए । ४६ वर्षको उमेरमा मृत्यु भएको थियो ।

सबैभन्दा छोटो समय बाँच्ने प्रधानमन्त्री ड्युक अफ डेभोनशायर थिए । उनको जन्म ८ मे १७२० मा भएको थियो र २ अक्टोबर १७६४ मा ४४ वर्ष १४७ दिनको उमेरमा मृत्यु भएको थियो । पहिलोपटक नियुक्त हुने सबैभन्दा वृद्ध प्रधानमन्त्री लर्ड पामस्टर्न ६ फेब्रुअरी १८५५ मा ७० वर्ष ३ महिना १७ दिनको उमेरका थिए ।

समग्रमा नियुक्त हुने सबैभन्दा जेठो प्रधानमन्त्री र आमचुनाव जित्ने सबैभन्दा जेठो प्रधानमन्त्री विलियम इवार्ट ग्लाड स्टोन थिए । उनको जन्म २९ डिसेम्बर १८०९ मा भएको थियो । १५ अगस्ट १८९२ मा ८२ वर्ष ७ महिना र ३ वर्षको उमेरमा अन्तिमपटक नियुक्त भएका थिए ।

पदमा बहाल हुँदै कालगतिले मृत्यु हुने प्रधानमन्त्रीहरू ६ जना थिए । लर्ड विल्मिंगटन २ जुलाई १७४३ मा ७० वर्षको उमेरमा, हेनरी पेल्हम ६ मार्च १७५४ मा ५९ वर्षको उमेरमा, लर्ड रकिंघम १ जुलाई १७८२ मा ५२ वर्षको उमेरमा, विलियम पिट द यङ्गर २३ जनवरी १८०६ मा ४६ वर्षको उमेरमा, लर्ड पामस्र्टनको १८ अक्टोबर १८६५ मा ८० वर्षको उमेरमा (आफ्नो ८१ औं जन्मदिनको २ दिनअघि) र जर्ज क्यानिङको मृत्यु ८ अगस्ट १८२७ मा ५७ वर्षको उमेरमा भएको थियो । सर हेनरी क्याम्पबेल–ब्यानरम्यान र बोनर लले रोगका कारण अन्तिम समयमा राजीनामा दिएका थिए । राजीनामाको ५ महिनापछि लको मृत्यु भयो तर क्याम्पबेल–ब्यानरम्यानले भने घर सार्न नपाउँदै १९ दिनपछि १० डाउनिङ स्ट्रिटमा नै प्राण त्यागे । उनी एक मात्र सरकारी निवासमा मृत्यु हुने प्रधानमन्त्री हुन् । पद छाडेको २६ दिनपछि ड्युक अफ पोर्टल्यान्डर १८३ दिनपछि नै नेभिल चेम्बरलेनको मृत्यु भएको थियो ।

समयको आधारमा हेर्दा १ वर्षभन्दा कम ७ जना, २ वर्षभन्दा कम ६ जना, ३ वर्षभन्दा कम ९ जना, ४ वर्षभन्दा कम ८ जना, ५ देखि १० वर्ष १८ जना र १० वर्षदेखि माथि कार्यभार सम्हाल्नेहरू ७ जना प्रधानमन्त्री थिए ।

अहिलेसम्म जन्मको आधारमा बोरिस जोनसन अमेरिका, बोनार ल क्यानडा, विलियम पेटी र आर्थुर वेल्सले आइरिश र टोनी ब्लेयर, गोर्डन ब्राउनसहित ६ जना स्कटल्याण्डबाहेक अरु सबै इंग्ल्यान्डका हुन् । डेभिड लोयड जर्ज इंग्ल्याण्डमा जन्मेका भए पनि एक मात्र वेल्शभाषी प्रधानमन्त्री हुन् ।

कम्तीमा २४ बेलायती प्रधानमन्त्रीहरू रगत वा विवाहद्वारा नाता जोडिएका नातेदारहरू थिए । लर्ड चाथम (पिट द एल्डर) र विलियम पिट जुनियर तथा जर्ज ग्रेनभिल र विलियम, लर्ड ग्रेनभिल बुवाछोरा हुन् । हेनरी पेल्हम (१७४३–५४) र उनीपछिको तत्काल उत्तराधिकारी थोमस पेल्हम–होल्स, न्यूकासलको फस्र्ट ड्यूक (१७५४–५६, १७५७–६२) यी २ सहोदर दाजुभाइ थिए । पिट द यङ्गर र लर्ड ग्रेनभिलका बुवाहरू दाजुभाइ थिए । बोरिस जोनसन र डेभिड क्यामरुन पनि टाढाको दाजुभाइ साइनो पर्ने हुन् । लर्ड चाथम र लर्ड ग्रेनभिल, जर्ज ग्रेनभिल र विलियम पिट जुनियर, रोबर्ट ग्यास्कोइन–सेसिल र आर्थर बालफोर काका भातिजाहरू हुन् । एलेक डगलस–होम, लर्ड ग्रेका नाति थिए । ड्यूक अफ पोर्टल्याण्ड, ड्यूक अफ डेभोनशायरका ज्वाइँ थिए । पिट द एल्डर, जर्ज ग्रेनभिलका बहिनी ज्वाइँ थिए । लर्ड पामर्स्टन पनि लर्ड मेलबर्नका बहिनीज्वाइँ थिए । सर एन्थोनी इडेनले सर विन्स्टन चर्चिल दोस्रोपटक पदमा रहँदा उनका भाइ स्ट्रेज स्पेन्सर–चर्चिलकी छोरी क्लारिसासँग विवाह गरेका थिए ।

वैवाहिक आधारमा हेर्दा जम्मा ४ जना मात्र अविवाहित थिए । द फर्स््ट अर्ल अफ विल्मिङ्गटन, विल्लियम पिट द योंगर, आर्थुर बाल्फोर र एडवार्ड हिथले जीवनभर विवाह नै गरेनन् । एडवार्ड हिथको मृत्युपछि उनीविरुद्ध ४२ वटा बाल तथा यौन दूराचार सम्बन्धी उजुरीहरू परे तर कुनै प्रमाण फेला नपरेका कारण प्रहरीले मुद्दा अगाडि बढाउनु नपर्ने निर्णय गरेको थिए । बेलायतका ३ प्रधानमन्त्रीले मात्रै सम्बन्धविच्छेद गरेका छन् । ड्यूक अफ ग्राफ्टनले आफ्नो कार्यकाल २३ मार्च १७६९ मा पारित गरेको संसदको ऐनद्वारा आफ्नी पहिलो पत्नी एनी (नीलिडेल) सँग सम्बन्धविच्छेद गरेर त्यही वर्षको २४ जुनमा एलिजाबेथ रोटेस्लेसँग पुनर्विवाह गरे । सर एन्थोनी इडेनले १९५० मा आफ्नी पहिलो श्रीमती बीट्रिस (नीबेकेट) लाई सम्बन्धविच्छेद गरेर २ वर्षपछि क्लारिसास्पेन्सर–चर्चिलसँग १४ अगस्त १९५२ मा आफ्नो कार्यकाल शुरू हुनुअघि पुनः विवाह गरे । बोरिस जोनसनले १९९३ मा आफ्नी पहिलो पत्नी एलेग्रा मोस्टिन–ओवेनसँग सम्बन्धविच्छेद गरेर २ हप्तापछि मारिना ह्वीलरसँग पुनः विवाह गरे । २०१८ मा जोनसन र ह्वीलर अलग भए, नोभेम्बर २०२० मा उनीहरूको सम्बन्धविच्छेदलाई अन्तिम रूप दिएर सन् २०२१ को मे २९ मा क्यारी सीमोण्डसँग विवाह गरे ।

लर्ड लिभरपूल, लर्ड सालिसबरी र सर हेनरी क्याम्पबेल–ब्यानरम्यानको जीवन संगिनी पद बहाल हुँदा नै गुमाउन पुगेका थिए । जसमध्ये लर्ड लिभरपूलले आफ्नो कार्यकालपछि दोस्रो विवाह गरे । सर रोबर्ट वालपोल, लर्ड शेलबर्न र लर्ड एबरडीन २ पटक बिदुर भए । लर्ड रसेल, एच.एच.आसक्विथ, डेभिड लोयड जर्जले श्रीमतीको मृत्युका कारण पुनःविवाह गरेका थिए । बोनरल, स्टेनली बाल्डविन, रामसे म्याकडोनाल्ड, क्लेमेन्ट एटली, एलेक डगलस–घर, डेभोनशायरको ड्यूक, जर्ज ग्रेनभिल, हेनरी एडिङ्गटन, वेलिङ्गटनको ड्यूक, लर्ड मेलबर्न, बेन्जामिन डिजराइली र मार्गरेट थ्याचरले दोस्रो विवाहा गरेनन् ।

सबैभन्दा बढी सन्तान लर्ड ग्रेका थिए । उनकी पत्नीबाट १० छोरा र ६ छोरीहरूको जन्म भएको थियो भने १ भित्री श्रीमतीको तर्फबाट अर्को १ छोरी पनि थिइन् । उनलाई ग्रेको बुवाआमाले नै हुर्काएका थिए ।

सन् १९०६ मा हेनरी क्याम्पबेल–ब्यानरम्यानको नेतृत्वको सरकारमा भएका ३ मन्त्रीहरू हर्बर्ट अस्क्विथ, डेभिड लोयड–जर्ज र विन्स्टन चर्चिलपछि प्रधानमन्त्री भएका थिए । विन्स्टन चर्चिल नोबेल पुरस्कार प्राप्त गर्ने एक मात्र बेलायती प्रधानमन्त्री थिए । उनले सन् १९५३ मा साहित्यका लागि पुरस्कार जितेका थिए । सबैभन्दा धनी प्रधानमन्त्री लर्ड डर्बी मानिन्छन् । उनीसँग ७ मिलियन पाउण्ड  (आजको मूल्यमा लगभग ४४४ मिलियन) को व्यक्तिगत सम्पत्ति थियो । सबैभन्दा गरीब विलियम पिट द यङ्गर थिए, जसको ऋण ४० हजार पाउण्ड (अहिलेको हिसाबमा एक मिलियनभन्दा बढी) थियो ।

सन् १९०२ देखि ५ सम्म प्रधानमन्त्री भएका आर्थुर बाल्मोरपछि डेविड लोयद जर्जले गठन गरेको संयुक्त सरकारमा सन् १९१९ मा विदेश मन्त्री बनेका थिए । स्न १९३७ देखि १९४० सम्म प्रधानमन्त्री भएका नेभिल च्याम्बर्लिनलाई चर्चिलले आफ्नो मन्त्रिमण्डलमा अर्थमन्त्री हुन अनुरोध गरेका थिए तर उनले अस्वीकार गरे । पछि ५ सदस्यीय लर्ड प्रेसिडेन्ट अफ काउन्सिलका प्रमुखको हैसियतमा चर्चिललाई सहयोग गरेका थिए ।

सन् १९७० देखि १९७४ सम्म प्रधानमन्त्री भएका एडवार्ड हीथलाई थ्याचरले अमेरिकाका लागि राजदूत  र नेटोको सेक्रेटरी जनरल बन्न प्रस्ताव गरेका थिए तर उनले अस्वीकार गरे । सन् १९८७ मा उनी अक्सफोर्ड विश्वविद्यालयको चान्सलर बन्न उम्मेदवार भएका थिए तर कन्जरभेटीब पार्टी भित्रको बेमेलका कारण पराजित हुन पुगेका थिए । २ पटक प्रधानमन्त्री भएका स्ट्यान्ली बाल्ड्विन सन् १९३१ मा बेलायत लगायत संसारमा नै आर्थिक संकट परेका कारण विरोधी लेबर पार्टीको राम्से म्याकडोनाल्ड नेतृत्वको सरकारमा सामेल भएका थिए । 

स्ट्यान्ली लर्ड प्रेसिडेन्ट अफ काउन्सिलका प्रमुख र अन्य केही मन्त्रीको हैसियतमा सरकारलाई सहयोग गर्न पुगेका थिए तर यही कारण लेबर पार्टीभित्र ठूलो समस्या आयो । म्याकडोनाल्डको स्वास्थ्य स्थितिले गर्दा पनि प्रधानमन्त्री बनिरहन नसकेका कारण स्ट्यान्लीलाई तेस्रोपटक प्रधानमन्त्री बन्ने अवसर मिल्यो र म्याकडोनाल्ड लर्ड प्रेसिडेन्ट अफ काउन्सिलका प्रमुख बनेका थिए ।  

हालसम्म विवादित २ जनाबाहेक ५५ जना प्रधानमन्त्रीहरूले पद बहाल गरेको देखिन्छ । जसमध्ये ७ जनाले १० वर्षभन्दा बढी, १८ जनाले ५–१० वर्षसम्म, ८ जनाले ४ वर्षभन्दा कम, ९ जनाले ३ वर्षभन्दा कम, ६ जनाले २ वर्षभन्दा कम र ७ जनाले १ वर्षभन्दा कम कार्यकाल सम्हालेका थिए । जसमध्ये सबैभन्दा धेरै ४ पटकमा विलियम ग्लाड्सटनले १२ वर्ष १२६ दिन र अन्य ३ जनाले ३–३ पटक र १३ जनाले २–२ पटक जिम्मेदारी बहन गरेका थिए । यीमध्ये १९ जना कन्जरभेटिभ, १७ जना ह्वीग, ८ जना टोरी, ६ जना लेबर र ५ जना लिबरल पार्टीका हुन् ।

यसबीचमा ८ पटक संयुक्त सरकार निर्माण भएको देखिन्छ । सन् १९३१–३५ को राष्ट्रिय सरकार, सन् १९४० देखि ४५ सम्म चर्चिलको युद्धकालीन सरकारपछि सन् २०१० देखि २०१५ सम्म डेभिड क्यामरुन र निक क्लेगको सरकारबाहेक अरु भने थोरै समयका लागि मात्र अस्तित्वमा रहेका थिए । 

यस अवधिमा २ महारानी र ७ राजाहरूले शासन गरेका छन । जर्ज प्रथमको पालामा १, जर्ज द्वितीयको पालामा ५, जर्ज तेस्रोको पालामा १६, जर्ज चौथोको पालामा ९, रानी भिक्टोरियाको पालामा १९, एडवर्ड सातौंको पालामा ३, जर्ज पाँचौंको पालामा ७, जर्ज छैठौंको पालामा ४, रानी एलिजाबेथ द्वितीयको पालामा १६ प्रधानमन्त्रीहरू नियुक्त भएका थिए र अब छिट्टै १ थप नियुक्ति हुनेछ ।  

ग्रेट ब्रिटेन राजतन्त्रात्मक देश भएका कारण शक्तिको मुख्य स्रोत राज संस्थालाई नै मानिन्छ । सन् १७२१ मा पहिलो लर्ड अफ द त्रेजरर नियुक्त गरेको थियो । जसले राजालाई शासन गर्न दिनानुदिन हरेक विषयमा सहयोग गर्ने गर्दथे । जिम्मेदारी बहन सँगसँगै प्रधानमन्त्री पद विकसित हुँदै आउँदा सन् १९०५ देखि आधिकारिक रूपमा नै प्रधानमन्त्री भन्न थालियो तर जिम्मेवारी बहनका कारणले गर्दा आधुनिक इतिहासकारहरूले सर रोबर्ट वालपोललाई पहिलो बेलायती प्रधानमन्त्रीको उपाधि दिएका छन् । उनले सन् १७२१ देखि १७४२ सम्म राजा जर्ज प्रथमको राज्य चलाउन सहयोग गरेका थिए । सन् १९०० तिरबाट भने संवैधानिक रूपबाट नै सरकार प्रमुखलाई प्रधानमन्त्री भन्ने चलन चलेको हो । प्रधानमन्त्रीलाई अहिले पनि लर्ड अफ द त्रेजरर पनि मानिन्छ । यसकारण माथिल्लो सदन हाउस अफ लार्ड्सको पनि स्वतः सदस्य हुने हुँदा दुवै सदनमा प्रस्तुत हुन पाउँदछ ।   

धेरैजसो प्रधानमन्त्रीहरूले शुरूदेखि नै लर्ड अफ द त्रेजररका अलावा अर्थ मन्त्रालय (चान्सलर अफ ऐक्सचेकर), माथिल्लो वा तल्लो सदनको प्रमुख, विदेश वा रक्षा मन्त्रालय आफ्नो जिम्मामा राखेको देखिन्छ तर सन् १९६४ ह्यारोल्ड विल्सनको पालोदेखि आजसम्म सबैले निजामती सेवा मन्त्रीको जिम्मेवारी लिएको देखिन्छ । अहिले बिदा हुँदै गरेका बोरिस जोनसनले पहिलोपटक मिनिस्ट्री अफ युनियन सिर्जना गरी त्यसको नेतृत्व पनि आफैंले गर्न थालेका हुन् ।  

प्रधानमन्त्रीको कार्यकालको अन्त्यमा निवर्तमान प्रधानमन्त्रीलाई मोस्ट नोबल अर्डर अफ द गार्टर वा स्कटल्याण्डमा जन्मेकाको हकमा मोस्ट ऐनसियन्त एण्ड नोबल अर्डर अफ द थिसल प्रदान गर्ने चलन छ । यद्यपि हालसम्म पूर्व प्रधानमन्त्रीहरू गोर्डन ब्राउनले अस्वीकार गरेको र टोनी ब्लेयरले इराक युद्धबारे जनताको विरोधका कारण यो सम्मान पाएका छैनन् । पूर्व प्रधानमन्त्रीलाई आजीवन पियरेज प्रदान गरिने हुँदा उनीहरू स्वतः हाउस अफ लर्डस्का सदस्य हुन्छन् । 

बोरिस जोनसन आफूलाई त्यतिकै निष्क्रिय राख्ने खालको व्यक्ति होइनन् । उनले प्रधानमन्त्रीको रूपबाट संसदमा दिएको अन्तिम वक्तव्यको अन्त्यमा ‘हास्ता ला भिस्टा बेबी’ भनेका थिए । यो स्पेनिस भाषामा ‘फेरि भेटौंला’ भन्ने बुझिन्छ । यो शब्द हलिउड फिल्म टर्मिनाटर २ जद्ज्मेंट डेमा प्रयोग भएपछि झनै चर्चित भएको थियो । यसैलाई आधार मानि बोरिस फेरि एकपटक शक्तिमा आउन सक्ने र बेलायती इतिहास दोहरिने सम्भावना रहेका कारण अहिले बेलायतको राजनीतिमा फेरि एकपटक यसबारे तर्क शुरू भएको छ । हेरौं भविष्यले कहाँ डोर्‍याउँछ ? 

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x