काठमाडौँ, १४ साउन - प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनमा पनि आरक्षणको व्यवस्था गर्न सांसदले माग गरेका छन् । प्रतिनिधिसभा सदस्यसम्बन्धी संसद्मा विचाराधीन विधेयकमा आरक्षणको व्यवस्था गर्न माग गर्दै सांसदहरूले संशोधन दर्ता गराएका हुन् । सांसदहरूले प्रत्यक्ष निर्वाचनमा पनि कम्तीमा ३३ प्रतिशतदेखि ५० प्रतिशतसम्म आरक्षण गर्न माग गरेका हुन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका अधिकांश दलका सांसदले आरक्षण व्यवस्थाको माग गरेको खबर गोरखापत्रले छापेको छ । संशोधन दर्ता गर्ने माओवादी केन्द्रका अधिकांश सांसदले ५० प्रतिशत महिलामात्र उम्मेदवारको आरक्षणका लागि संशोधन दर्ता गरेका छन् ।
संविधानको व्यवस्थाअनुसार प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रका लागि प्रतिस्पर्धा हुनेछ । त्यसमा कम्तीमा ५५ सिटदेखि ८२ सिटसम्म महिलामात्र प्रतिस्पर्धाको व्यवस्थाका लागि संशोधन दर्ता गरिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४२ संशोधन दर्ता भएका छन् । दर्ता भएकामध्ये ठूलो सङ्ख्यामा संशोधन आरक्षणको व्यवस्थाका लागि छन् ।