कैलालीको भजनीमा उपभोक्ता समितिमार्फत काम गरेका महिला यतिखेर घरबाट रकम तिर्नुपर्ने भएपछि समस्यामा छन् ।
भजनी नगरपालिका–२ पल्टुपुरका सडक निर्माण उपभोक्ता समितिका महिला काम गर्दा खर्च भएको भन्दा कम रकम पालिकाबाट पाएपछि समस्यामा परेका हुन् ।
सिमलको रुखदेखि खडक बुढाको घरसम्म बाटो ग्राभेलका लागि नगरपालिकाले ५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । महिलाले त्यहाँ बाटो ग्राभेल गर्दा पालिकाबाट ३ लाख १ हजार रुपैयाँ मात्रै भुक्तानी पाएका छन् ।
बाटो बनाउँदा खर्च भएको १ लाख १५ हजार रुपैयाँ तिर्न बाँकी रहेपछि उनीहरू यतिखेर समस्यामा छन् ।
उपभोक्ता समितिमा स्थानीय ११ महिला छन् । महिलाले बाटो बनाउँदा टिप्परलाई मात्र ३ लाख ९० हजार र जेसीबीलाई १२ हजार रुपैयाँ तिर्न बाँकी छ । अन्य काम गर्दाको खर्चको हिसाब छैन । शुरूआतमा नगरपालिकाका प्राविधिकले सडक नापेर गर्नु भने जति नै आफूहरूले काम गरेको उनीहरूले बताएका छन् ।
प्राविधिकले बनाएको स्टिमेट अनुसार काम गरे पनि रकम कम भुक्तानी दिँदा समस्या भएको उपभोक्ता समितिकी अध्यक्ष इन्द्रा धामी बताउँछिन् । ‘हामीले भनेअनुसार काम गर्यौं,’ उनले भने, ‘पहिला त्यही नापेको थियो, ठीक छ यति ग्राभेल गर्नु भनियो, पछि रकम भुक्तानी दिँदा कम काम भयोे, रकम घट्छ भनेर थोरै दिए । प्राविधिकले नापेर बनाउन भने जति बाटो बनाएका हौं ।’
पालिकाका प्राविधिकले दुःख दिएको अध्यक्ष धामीको आरोप छ । पालिकाले भुक्तानी कम दिएपछि ग्राभेल हालेको रकम तिर्न नसक्दा विपन्न बस्तीका महिला तनावमा छन् । महिलालाई रकम तिर्न ताकेता गर्दै टिप्पर मालिकले कागज गराएर गाईभैंसी उठाउने भनेपछि उनीहरू अब रकम कसरी तिर्ने भन्ने पीरमा रहेका धामी बताउँछिन् । ‘टिप्परलाई ९० हजार रुपैयाँ तिर्न बाँकी छ । हामीसँग ४५ दिनको कागज गरिएको छ । आज ४५ दिन पुग्दैछ,’ उनले पीडा सुनाउँदै भनिन्, ‘अब कहाँबाट ल्याएर तिर्ने ? बाटो बनाउँदा ऋणमा डुब्यौं ।’
महिलाले टिप्पर मालिक लगायतलाई गरी अझै १ लाख १५ हजार रुपैयाँ तिर्न बाँकी छ । उपभोक्ता समितिका सचिव तारा बोहरा बुढा अब बाख्रा बेचेर भए पनि ऋण तिनुपर्ने बाध्यता आइलागेको बताउँछिन् । उनले भनिन्, ‘निकै समस्यामा छौं । बाख्रा पाल्नेले त्यही बेचेर तिर्ने सोच बनाएका छौं ।’
महिलाले ६२० मिटर ग्राभेल गरेको स्थानीय बताउँछन् । पालिकाले हिसाब गरेर ४८५ मिटर बाटोको कामको मात्र भुक्तानी दिएको स्थानीय मनबहादुर बुढाले बताए । सो क्रममा उनीहरूले श्रमदान समेत गरेका थिए । ‘माग सम्बोधन नगरे महिला अब विकासका काममा हात हाल्न डराउने छन्,’ उनले भने ।
टिप्पर मालिकले ग्राभेल खसालेको रकम उपभोक्ता समितिबाट असूल गर्न ४५ दिनअघि कागज गरेको थियो । उक्त म्याद बुधवार सकिँदैछ । ९० हजार रुपैयाँ तिर्नुपर्ने भनी बनाइएको कागजमा ऋणीमा उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई राखिएको छ भने स्थानीय भल्मन्सा बलबहादुर बुढालाई साक्षी राखिएको बुढा बताउँछन् ।
‘मेरै घरमा कागज गरियो, कागजमा के लेखिएको छ हामीले हेर्न पाएनौं,’ उनले भने, ‘उपभोक्ता समितिलाई ऋणी बनाइएको छ । मलाई साक्षी राखिएको छ ।’
स्टिमेटअनुसार ६२० मिटर सडक ग्राभेल गर्नुपर्ने छ तर ४८५ मिटरमा ग्राभेल गरिएको भजनी नगरपालिकाले जनाएको छ । नगरपालिकाका सबइन्जिनीयर भावना विष्टले काम अनुसारको पालिकाबाट भुक्तानी भएको तर नभएको कामको भुक्तानी दिन नसकिने बताइन् । ‘उहाँहरूले काम गरेअनुसार भुक्तानी दिइएको छ । रकम नपुगेकोबारे मलाई थाहा छैन,’ उनले भनिन्, ‘हामीले नापेर भुक्तानी दिने हो । त्यहीअनुसार दिएका छौं ।’ – दुर्गा देवकोटा/रासस