२६ जेठ २०८३, मंगलबार
अपराधमा जनप्रतिनिधि

गाउँपालिका अध्यक्ष मुछिएको ठेक्का डील– सवा करोड तिर्नुपर्ने भएपछि लागूऔषधमा फसाइयो !

भदौ १२, २०७९
गाउँपालिका अध्यक्ष मुछिएको ठेक्का डील– सवा करोड तिर्नुपर्ने भएपछि लागूऔषधमा फसाइयो !

गत असार २२ गते पश्चिम नवलपरासीबाट दुईजना भारतीय नागरिक लागूऔषधसहित पक्राउ परे ।

उनीहरू थिए, भारतको मोतिहारीका रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवान । उनीहरूले कवाड उठाउने काम गर्दै आएका थिए ।

रामग्राम नगरपालिका– १७ पिपरहियाको चिया पसलबाट उनीहरूले प्रयोग गरेको मोटरसाइकलमा रहेको २७० सेट डाइजेपाम, नुर्फिन र फेनारगनसहित दुवैजनालाई पक्राउ गरिएको थियो ।

उनीहरूले विगत १२ वर्षदेखि पश्चिम नवलपरासीका विभिन्न ठाउँमा कवाड संकलन गर्दै आइरहेका थिए । रामाका व्यावसायिक साझेदार थिए, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता । 

अध्यक्ष गुप्ता र रामाले एउटा ठूलो आम्दानी हुने ठेक्का हात पारे । 

त्यसको २० प्रतिशत आम्दानी रामालाई दिने समझदारी बन्यो । आम्दानीको २० प्रतिशत बराबर रकम हुन्थ्यो १ करोड ३३ लाख रुपैयाँ । प्रहरी स्रोतका अनुसार त्यो पैसा दिन बैजुले आनाकानी गरे । 

दुई वर्ष यत्तिकै बित्यो । राजनीतिक पावरको आडमा बैजुले पैसा दिएनन् । पैसा नदिएपछि रामाले आफूले संकलन गरेको कवाड बैजुलाई बिक्री गर्न छाडे । अन्य व्यवसायीलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाए । 

आफूसँग काम गर्न छाडेपछि पैसा समेत दिन नपर्ने गरी रामा र उनका सहयोगीलाई फसाउन बैजुले आफ्ना सहयोगी रघुनाथ धोबीलाई परिचालन गरेर मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले लागूऔषध कारोवार गर्छन् भन्ने सूचना दिएका रघुनाथलाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी ऋषिराम कंडेलले प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरिरहेको बताउँदै छिट्टै घटनाको यथार्थ बाहिर ल्याउने लोकान्तरलाई बताए ।

उनले भने, ‘हामी सुक्ष्मरूपमा अनुसन्धान गरिरहेका छौं । दोषीलाई कारवाही हुन्छ । निर्दोषलाई न्याय दिलाउँछौं । धोबीले रामासँग दुस्मनी साँध्न नियोजितरूपमा पक्राउ गर्न लगाइएको बयान दिएका छन् । रामा र उनका सहयोगी ५० दिनदेखि प्रहरी हिरासतमा छन् ।'

रामाकी श्रीमती लालसा गुप्ताले आफूहरूको पैसा नतिर्नका लागि योजनाबद्ध रूपमा आफ्ना श्रीमानलाई फसाइएको बताइन् ।

लालसाले गाउँपालिका अध्यक्ष गुप्तालाई जोगाउने खेल भएको बताइन् । प्रहरीले उनीहरूलाई सार्वजनिक नगरी गुपचुप मुद्दा चलाएको थियो । 

पीडित परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले शनिवार परासीमा पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष गुप्ताकै योजनामा सुनवलको भुमहीमा बस्दै आएका कवाड व्यवसायी भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका गुप्ता र पासवानलाई फसाएको दाबी गरेका छन् ।

उनीहरूले पक्राउ परेका गुप्ता र पासवान पूर्णतः निर्दोष रहेकाले तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षमाथि छानबिन गर्न माग गरेका छन् । 

प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीले गरेको छानबिनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि उनीहरूको माग छ । रामग्राम नगरपालिका १७ पिपरहियामा चिया पसलभित्र बोलाएर आफैँले ल्याएको लागूऔषध उनीहरूले प्रयोग गरेको मोटरसाइकलमा राखिदिएर प्रहरीलाई सूचना दिएको रामा गुप्ताका साला सञ्जय साहले बताए ।

रामाका साला

‘गाउँपालिका अध्यक्षसँग १३ करोडको कारोवार गरेका थियौं । कारोबारको २० प्रतिशत नाफा हामीले पाउने सहमति थियोे,’ साहले भने, ‘हामीले पाउनुपर्ने एक करोड ३३ लाख रकम नदिन अध्यक्षले धेरै समय आलटाल गरेका थिए । त्यो दिन पिपरहियामा बोलाए । पैसा दिने होला भनेर गएको भिनाजुलाई फसाउन रहेछ ।’ 

गाउँपालिका अध्यक्ष गुप्तासँग रामाले १२ वर्षदेखि कवाडीको कारोबार गर्दै आएको सञ्जयले बताए । पाउनुपर्ने रकम दिन आलटाल गरेपछि कवाड दिन छाडेको र उनले धम्की दिन थालेको साहले बताए ।

पछिल्लो समय भुमहीस्थित बजाज मोटरसाइकल उद्योगबाट उत्पादित कवाड बिक्रीका लागि २० लाख धरौटी मागेपछि रकम नभएकाले रामाले गाउँपालिका अध्यक्षसँग २० प्रतिशत नाफा पाउने गरी साझेदारीमा कवाड कारोबार गर्दै आएको बताए । 

पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले पद र पैसाको आडमा गाउँपालिका अध्यक्षले तिर्नुपर्ने मोटो रकम नतिरेर उम्किन भारतीय नागरिकलाई फसाएको पाइएको बताए ।

गठबन्धनको आडमा गाउँपालिका अध्यक्षले प्रहरी प्रशासनलाई प्रभावित गरेर उम्किन खोजेको भन्दै यादवले निर्दोष भारतीय नागरिकलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

‘भारतीय नागरिकको पक्षमा बोलिदिने कोही छैनन् भनेर झूटा मुद्दामा फसाउन खोजिएको छ, यस्तो अन्याय भयो भने भोलि भारतमा रहेका नेपालीमाथि यस्तै घटना दोहोरिन सक्छन्,’ यादवले भने, ‘यो घटनामा प्रहरीको भूमिका शंकास्पद् छ ।’ 

नेपाली कांग्रेस नवलपरासीका कार्यवाहक सभापति विक्रमप्रसाद यादवले गठबन्धनको आडमा गाउँपालिका अध्यक्ष गुप्तालाई बचाउन प्रहरी प्रशासन समेत लागेको भन्दै गृह मन्त्रालयको ध्यान जानुपर्ने माग गरे ।

गाउँपालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित हुन् । गुप्ताले आफू उम्किन प्रहरी प्रशासन र पार्टी नेतृत्वमार्फत ठूलै चलखेल गरेको भन्दै उनको कल डिटेल अनुसन्धान गर्न यादवले माग गरे ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलराज उपाध्यायले छानबिन अन्तिम चरणमा पुगेको र दोषीलाई कुनै हालतमा उम्किन नदिइने बताए । 

निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले माथिल्लो निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएका थिए ।

घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका दुवै युवक डेढ महिनादेखि प्रहरी हिरासतमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्