
उपन्यासकार मणि नेपाली पनेरुले आफ्नो पुस्तक ‘सात जुनी’को बिक्री वितरणबाट प्राप्त सम्पूर्ण रकम समाजसेवामा लगाएका छन् । शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएका हुन् ।
पनेरुले गत महिना लोकार्पण भएको उक्त पुस्तकको बिक्रीबाट प्राप्त रु. १ लाख ‘सात जुनी विकास कोष’मा दिने घोषणा गरे । उक्त कोष हेमा पनेरु अध्यक्ष तथा कलाकार अविनाश न्यौपाने उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष रहने गरी स्थापना गरिएको हो ।
हाल संयुक्त राज्य अमेरिका बस्दै आएका गोरखाको सौरपानीमा जन्मिएका पनेरुले सौरपानीलाई नै आधारविन्दु बनाई विकास कोषले काम गर्ने बताए । ‘यस पुस्तक बिक्रीको सम्पूर्ण रकम मेरो जन्मभूमि सौरपानीको विकासमा सदुपयोग गर्ने निर्णय भएकोले यो कोषको घोषणा गरेको छु’, उनले भने, ‘यो प्रयास मेरो मातृभूमि नेपाल प्रतिको सङ्लो मायाले प्रेरित छ र म नेपाललाई प्रेम गर्छु भन्ने सांकेतिक सत्कार्य हो ।’
कोषका कार्यवाहक अध्यक्ष अविनाश न्यौपानेले कोषमार्फत आफूले इमान्दार भएर समाजको हितमा काम गर्ने बताए ।
गत महिना पनेरुद्वारा लिखित चार कृतिहरू उपन्यास ‘सात जुनी’, बालकविता संग्रह ‘हाम्रो झन्डा’, गीती संग्रह ‘स्वर्गको गाथा’ र कविता संग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकापर्ण गरिएको थियो । उक्त चार कृतिमध्ये ‘सात जुनी’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम विकास कोषमा राखिने छ भने अन्य दाताहरूबाट प्राप्त रकमसमेत कोषमा जम्मा गरिनेछ ।