
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षे कार्यकाल राम्रो नभएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संसदको पाँच वर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरुप नभएको बताएका हुन् ।
उनले केही नेताहरूको चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ गएको बताए । अध्यक्ष नेपालले राष्ट्रको विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षको कार्यकाल राम्रो नभएको बताए । उनले देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडि नबढ्नुले आफू चिन्तित रहेको पनि बताए । यथास्थितिमा देशलाई अगाडि बढाउन नसकिने भन्दै अध्यक्ष नेपालले विचार र कार्यशैलीमा रुपान्तरणको आवश्यकता रहेको बताए ।
‘राष्ट्रको विकासको हिसावले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै पुअर । अत्यन्तै नराम्रो भन्न सकिन्छ । राज्य सञ्चालनको तरिकासँग म सहमत छैन । राज्यमा जुन ढंगले सुशासनको मान्यतालाई अवलम्वन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेको कुराले म अत्यन्तै चिन्तित छु’, अध्यक्ष नेपालले भने, ‘दोस्रो, देशको विकासको सन्दर्भमा जुन दूरदृष्टि राखेर समग्र विकासको कामलाई अघि बढाउने कुरा हो त्यो पनि नभएको देख्दा म सन्तुष्ट छैन । यो मुलुकमा विचारमा, कार्यशैलीमा पुनर्गठनको, रुपान्तरणको आवश्यकता छ । यो देशलाई यही पाराले, यथास्थितिको हिसावले अनि गफको हिसावले अगाडी बढाएर लान सकिँदैन । अराजनीतिक चिन्तनले पनि केही गर्नेवाला छैन । चिन्तन राजनीतिक हुनुपर्यो ।’
अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशत भन्दा बढी सिटमा सहमति भइसकेको बताए । ठूला पार्टीहरूले जम्मै सिट लिन खोज्दा समस्या खडा भएको उनको टिप्पणी थियो ।