
शुक्रवार बिहान पौने १० देखि सवा १० बजेसम्म ललितपुरको कुपण्डोलदेखि लगनखेलसम्म सडकमा एम्बुलेन्सको लस्कर देखियो ।
दर्जनौँको संख्यामा एम्बुलेन्सहरू साइरन बजाउँदै लगनखेलतर्फ लागेका थिए ।
सडकमा एम्बुलेन्सको भीड देखेपछि धेरैले कुनै दुर्घटना या आगलागी भएको आशंका गरे ।
वीर, त्रिवि शिक्षण, पाटनदेखि अन्य निजी अस्पतालका एम्बुलेन्स सडकमा कुदेका थिए ।
ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सीताराम हाछेथुले शहरी क्षेत्रमा हुने विपत प्रतिकार्य तयारीका सडकमा एम्बुलेन्स आएको जानकारी दिए ।
‘बिहान १० बजेको समयमा सडकमा एम्बुलेन्सको भीड देखेपछि धेरैको जिज्ञासा रह्यो, कुनै दुर्घटना भएर होइन विपत प्रतिकार्यको तयारीको लागि रहेछ,’ उनले लोकान्तरसँग भने ।
बागमती किनारामा रोकिएका एम्बुलेन्स एकैपटक सडकमा निस्कँदा कोलाहल मच्चिएको थियो ।