
निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य बहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेपनि उम्मेदवार थापा क्षेत्रीले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिता प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।
उनलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा जवाफ प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ–तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा १ को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होईन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?