काठमाडौंँ, २५ साउन - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी असोज २ गते प्रदेश नं. २ मा हुने निर्वाचनमा ५० प्रतिशतसम्म स्थानमा विजय हासिल गर्ने लक्ष्यसहित तयारी आरम्भ गरेको जनाएको छ । कतिपय जिल्लामा अन्य दलसँगको सहकार्यमा र कतिपय जिल्लामा एक्लै निर्वाचनमा जाने रणनीति भए पनि सत्तारूढ मुख्य दल नेपाली काँग्रेससँग भने एमालेले सहकार्य नगर्ने भएको छ ।

नेपाली काँग्रेसबाहेक सबै दलसँग ठाउँ र परिस्थितिअनुसार सहकार्य गरेर अगाडि बढ्ने नीति एमालेले लिएको प्रदेश नं. २ का इन्चार्ज तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले बताए । मधेसका आठ जिल्लाको १२७ स्थानीय तहको निर्वाचनका लागि पूरै पार्टी मधेसमा केन्द्रित भइसकेको बताउँदै उनले ५० प्रतिशतभन्दा बढी सिट एमालेले जित्ने लक्ष्यसाथ काम थालेको दाबी गरे, गोरखापत्रमा खबर छ ।