
चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि ८ दशमलव ५० प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ८ दशमलव ५० प्रतिशत पुगेको हो । राष्ट्र बैंकको विवरणअनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ ।
काठमाडौं उपत्यकामा ६ दशमलव ९३ प्रतिशत, तराईमा ९ दशमलव ४२ प्रतिशत, पहाडमा ८ दशमलव ८४ प्रतिशत र हिमालमा ७ दशमलव ०७ प्रतिशत महंगी बढेको बैंकले जनाएको छ ।
यो अवधिसम्ममा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८ दशमलव ०५ प्रतिशत र गैरखाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि ८ दशमलव ८५ प्रतिशत रहेको छ । रेस्टुराँ तथा होटल क्षेत्रको वार्षिक विन्दुगत मूल्यवृद्धि १५ दशमलव ९१ प्रतिशत, फलफूलको १२ दशमलव ०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १० दशमलव २४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९ दशमलव ४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८ दशमलव ४४ प्रतिशत रहेको छ ।
सेवा समूहअन्तर्गत यातायात क्षेत्रको मुद्रास्फीति २१ दशमलव १५ प्रतिशत, स्वास्थ्य क्षेत्रको १० दशमलव ५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९ दशमलव ४५ प्रतिशत र शिक्षाको ८ दशमलव ११ प्रतिशत रहेको छ ।
प्रतिवेदन अनुसार असोज महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १३ दशमलव ७३ प्रतिशत रहेको छ ।