
पुख्र्यौली पेशा माछा पालनलाई निरन्तरता दिन मल्लाह समुदायले स्थानीय सरकारसँग पोखरी निर्माणको माग गरेका छन् । लहान–२३ गढाका स्थानीय मल्लाह (सहनी) समुदायले स्थानीय सरकारसँग सो माग गरेका हुन् ।
गाउँमा रहेका चौध पोखरीमध्ये कुनै पोखरी आफूहरुले नपाएको भन्दै सो समुदायका नागरिक गुनासो गरेका छन् । स्थानीय शैलेन्द्र सहनीले भने, ‘गाउँमा यहाँ धेरै पोखरी छन्, तर हामीले आफ्नो पुख्र्यौली परम्परा जोगाउन सहयोग पाएनौ ।’
अल्प संख्यक मल्लाह समुदायको प्रमुख पेशा माछा पालन हो । त्यसका अतिरिक्त बाँसजन्य सामग्रीबाट उत्पादन गरिने घरायसी वस्तु उत्पादन गरी यी समुदायले आफ्नो जिविका चलाउने गरेको छ । माछा पालनका लागि स्थानीय सरकारले पोखरी उपलब्ध गराएमा आफूहरुको आर्थिक उपार्जनमा सहयोग पुग्ने उनको बुझाइ छ ।
लहानमा रहेका मल्लाह समुदायको आर्थिक अवस्था कमजोर छ । यी समुदायका बालबच्चा विद्यालय जान पाएका छैनन् । दुई छाकको जोहो गर्ने समस्या भएकाले केटाकेटीलाई विद्यालय पढाउन नसकेको स्थानीय विनोद सहनीले बताए ।
लहान २३ का वडाध्यक्ष बद्रीनारायण यादवले मल्लाह समुदायको माग जायज भएको बताए । वडामा रहेको पोखरीहरु मल्लाह समुदाबीच नै प्रतिस्पर्धा गराएर सहुलियत मूल्यमा ठेक्का दिनसके समुदाय लाभान्वित हुने उनले बताए । त्यसबारे नगरपालिका प्रमुखसँग परामर्श गर्ने उनले आश्वासन दिए ।