
काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको वडा १ को गोकुले र ८ नं वडास्थित घर्तीछापका ७० स्थानीयवासीलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिंह विष्टले जानकारी दिए । उनका अनुसार मरेका पशुको मासु खाएको थप स्थानीयवासीको खोजीकार्य भइरहेको छ भने पशुचौपायालाई पनि खोप लगाउने काम सुरु गरिएको छ । हाल दुई गाउँका ३५ पशुलाई रेबिजविरुद्धको खोप लगाइएको उनले जानकारी दिए ।
वडा नं १ का ४० र ८ का ३० स्थानीयवासीलाई रेविजविरुद्धको खोप लगाइएको छ । प्रारम्भिक चरणमा दुई वडाका पशुलाई खोप लगाउन चार सय भाइल खोप पुगेको शाखा प्रमुख विष्टले बताए । रेबिज सङ्क्रमण फैलन नदिन गाउँपालिकाको स्वास्थ्य शाखा र कृषि तथा पशुपंक्षी शाखाले हप्ता दिनदेखि निगरानीसँगै नियन्त्रणका हरसम्भव प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार गाउँमा चेतनामूलक ¥याली तथा स्थानीय विद्यालयमा दैनिक विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको छ ।
यसैबीच रेबिज सङ्क्रण नियन्त्रणका लागि जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईँसहितको एक टोली महाभारतको रेबिज प्रभावित क्षेत्र पुगेको छ । रेबिज फैलावटका विषयमा सुक्ष्म ढङ्गले अध्ययन गरिने बताइएको छ ।
“खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ”, कार्यालय प्रमुख डा. सेढाईँले भने । महाभारतमा अघिल्लो हप्ता मरेका दुई गाईका केही अङ्ग गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा शनिबार रेबिज रोगबाट गाई मरेको पुष्टि भएको थियो ।
काभ्रेमा तीन महिनापछि महाभारतमा रेबिज रोग फेलापरेको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपाया मरेका थिए । कार्यालयले त्यतिबेला दुई सय ८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएका तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाइएको थियो ।
नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुनेगरेको स्वास्थ्य तथ्याङ्कले देखाएको छ । विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ । रासस