
नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतको सरकारी टोलीले शनिवार लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिएको छ ।
निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगति–विवरण लिनुका साथै केवलकारको सन्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए । उनले यस केवलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रहसमेत गरे ।
उक्त अवसरमा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माणको प्रगति बारेमा जानकारी गराउँदै आगामी १÷२ महिना भित्रमै केबलकार सञ्चालनमा आइसक्ने जानकारी गराए । उनले केवलकारको झण्डै ९० प्रतिशत काम सकिसकेको तर रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने बताए ।
‘अबको १÷२ महिनापछि केबलकार सञ्चालनमा आउँछ । तर बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्नेछ’, ढकालले भने । केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुकासाथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ ।
लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र नेपालको सीमा क्षेत्रका भारतीय पर्यटकलाई यो केबलकारसहितको रिसोर्ट नयाँ पर्यटकीय गन्तव्य बन्ने कम्पनीको विश्वास रहेको छ ।