
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (मंगलवार) बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । नयाँ प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन् ।
निवर्तमान प्रधानमन्त्री देउवाले भोलि बालुवाटारस्थित सरकारी निवास छाड्ने उनका सहयोगी भानु देउवाले लोकान्तरलाई जानकारी दिए । उनी सरकारी निवास छाडेर बूढानीलकण्ठस्थित निजी निवास जानेछन् । देउवा बूढानीलकण्ठ फर्किने भएपछि उनको निजी निवास सरसफाइ र मर्मतको काम शुरु गरिएको छ ।
प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्डले आज (सोमवार) अपराह्न ४ बजे शपथ ग्रहण गर्दैछन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा प्रधानमन्त्रीको शपथ ग्रहण समारोह आयोजना हुनेछ ।