मोरङ व्यापार संघको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी बैंकिङ समस्या समाधान गर्न अनुरोध गरेको छ । संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा बिहीबार गएको टोलीले प्रधानमन्त्री प्रचण्डसँग सो अनुरोध गरेको हो ।
अध्यक्ष रिजालका अनुसार प्रधानमन्त्री प्रचण्डसँग भेट गरी विद्यमान बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीतिका विषयमा देखिएका समस्या समाधानका लागि आग्रह गरिएको छ । भेटका क्रममा उद्योगी व्यवसायी र आम सर्वसाधारणमा उत्पन्न भएको असहज वातावरणबारे जानकारी गराउँदै समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिन अनुरोध गरिएको अध्यक्ष रिजालले बताए ।
सो अवसरमा प्राधनमन्त्री प्रचण्डले समस्या समाधानका लागि आवश्यक पहल लिने प्रतिवद्धता जनाउनुभएको अध्यक्ष रिजालले जानकारी दिए । भेटमा मोरङ व्यापार संघका अध्यक्ष नबीन रिजाल, पूर्व अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, संघका उपाध्यक्ष अनिलकुमार साह, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल प्रदेश १ का अध्यक्ष एवं संघका सचिव संजयकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।
यसअघि संघले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी समस्या समाधानको आग्रह गरेको थियो । उहाँको आग्रहमा विरोधका कार्यक्रम स्थगित गरी सरकारसँग वार्ता गर्न व्यवसायीहरको टोली काठमाडौं आएको थियो । टोलीले यसअघि अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिवसँग वार्तागरी विद्यमान समस्या समाधानका लागि आग्रह गरेको थियो ।