२६ जेठ २०८३, मंगलबार

भीमसेन थापा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

भीमसेन थापा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
प्रतिकात्मक तस्वीर

गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले वडा नम्बर ६ अश्राङमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।

पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभ रूपमा स्वास्थ्योपचार सेवा पुुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए ।

आधारभूत अस्पतालमा बहिरंग, प्रयोगशाला, फार्मेसी लगायतका सेवा उपलब्ध रहेको अधिकृत अधिकारीले जानकारी दिए । त्यसबाहेक एक्सरे, आकस्मिक सेवा तथा बीमा कार्यक्रम समेत तत्काल विस्तार गर्ने योजना रहेको उनले बताए ।

अस्पतालमा चिकित्सकसहित स्वास्थ्यतर्फ नर्स, स्वास्थ्य सहायक, फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट लगायतका आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था रहेको अधिकारीको भनाइ छ ।

‘यस क्षेत्रका नागरिक सामान्य बिरामी परे उपचारका लागि सदरमुकाम र सदरमुकाम बाहिर लैजानुपर्ने बाध्यता रहँदै आएको थियो,’ उनले भने, ‘अब अस्पताल सञ्चालनमा आएसँगै उपचार सेवाका लागि  अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ ।’ गाउँपालिकाले चालू आर्थिक वर्षदेखि पालिकावासीलाई आफ्नै गाउँ ठाउँमा स्वास्थ्य सेवा दिन कसर बाँकी नराख्ने प्रतिबद्धता गरेअनुसार सेवा समेत प्रारम्भ भएको उनले बताए । ‘पालिकाभित्र रहेका नागरिकलाई गाउँघर र टोलटोलमामा स्थानीय सरकारको अनुभूति दिलाउने गरी स्वास्थ्य क्षेत्रमा पनि केही नयाँ कामको थालनी गरिहाल्नुपर्छ भन्ने हाम्रो योजना थियोे,’ गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले भने, ‘तिनै योजनाअनुरूप आधारभूत अस्पताल सञ्चालन ल्याइएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्