२६ जेठ २०८३, मंगलबार

मुलुकको अर्थतन्त्र रेमिट्यान्सले मात्र चल्दैन : शेखर गोल्छा

मुलुकको अर्थतन्त्र रेमिट्यान्सले मात्र चल्दैन : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् । बिहीवार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरूको प्रदर्शनीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्सले मात्रै नचल्ने बताएका हुन् । 

अध्यक्ष गोल्छाले सरकारले रेमिट्यान्स भित्र्याउने, नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीन वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको बताए । उनले अर्थतन्त्रको तीनवटा इन्जिनमध्ये रेमिट्यान्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने उल्लेख गरे । उनले सरकारले विदेशी मुद्रा आर्जनको लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताए । 

अध्यक्ष गोल्छाले बैंकिङ प्रणालीमा तरलताको अभाव र सोधानान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा पुगेको बताए । उनले अहिले विदेशी मुद्राको आयस्रोत ९० प्रतिशत रेमिट्यान्समात्रै भएकाले निर्यात र पर्यटनमा सरकारले विशेष जोड दिन सुझाव दिए । 

अध्यक्ष गोल्छाले नेपाली निर्यातजन्य वस्तुहरूको उत्पादनमा वृद्धि गर्नु आवश्यक रहेको बताए । उनले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले निर्यातका लागि ठूलो चुनौती भएको उल्लेख गरे । उनले सरकारले निर्यात प्रोत्साहनको लागि नगद अनुदानको व्यवस्था गरे पनि निर्यातकर्ताहरूले सहज रुपमा पाउन नसकेको गुनासो गरे । 

अध्यक्ष गोल्छाले नेपालमा ‘कस्ट अफ डुइङ बिजनेस’ बढिरहेकाले नेपाली निर्यातजन्य वस्तुहरूलाई प्रतिष्पर्धी बनाउन नसकिएको बताए । उनले निर्यातकर्ता सरकारले दिने अनुदान सहज रुपमा पाउनको लागि एक्स्पोर्ट हाउसको स्थापना गर्न आवश्यक रहेको बताए । 

निर्यात परिषद्ले २५औँ वार्षिक साधारण सभा तथा निर्यात दिवसको अवसरका दुई दिने नेपाली निर्यातजन्य वस्तुहरूको प्रदर्शनी काठमाडौंको ठमेलमा रहेको छाँया सेन्टरमा शुरु गरेको छ । प्रदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ । प्रदर्शनीमा २० वटा स्टलहरू राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्