
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भूसालले ओलीवाद हाबी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दाबी गरे।
एमाले परित्याग गरेको केही समयपछि शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बीच नेकपा एस प्रवेश गरेका उनले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हाबी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताए।
नेता भूसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको समेत दोहोर्याए।
आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उनको भनाइ थियो।
नेता भूसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डले दीपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नुपरेको स्पष्टीकरण समेत दिए।
नेता भूसालले आफू अहिले पनि नेकपाकै सदस्य भएको र यसको वैभवलाई एक ठाउँमा ल्याउने काम नेकपा (एकीकृत समाजवादी) ले मात्रै गर्न सक्ने भएकाले सो पार्टीमा प्रवेश गरेको तर्कसमेत गरे।
उनले जनताको बहुदलीय जनवादबारे एक लाइन पनि लेख्न सक्ने क्षमता एमालेका नेताहरूसँग नरहेको जिकिरसमेत गरे।