
स्थानीय तहमा हुने घटना दर्तालाई थप व्यवस्थित गरिने भएको छ ।
घटना दर्तामा केही समस्या रहेको गुनासो स्थानीय तहबाट आउन थालेपछि थप व्यवस्थित गर्ने तयारी गरिएको हो ।
पञ्जीकरण विभाग र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा शुक्रवार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले जन्म, विवाह दर्ता गर्दा केही समस्या रहेको र यसकै कारण नागरिकता वितरणमा समेत समस्या देखिएको गुनासो गरेका थिए ।
कार्यक्रमका सहभागीले बाबुआमा नभएका र पत्ता नलागेकाका बालबालिकाको जन्मदर्ता गर्दा समस्या भोग्नुपरेको, नागरिकता प्राप्त गर्न कठिन भएको नागरिकता नै नहुँदा सरकारी सुविधा प्राप्त गर्न कठिन भएको गुनासो गरे ।
विशेष गरी बाबुआमा नभएका बालबालिकाको जन्मदर्ता गराउन समस्या रहेको भन्दै पहिचान नखुलेका व्यक्तीको घटना दर्ता गर्न कानुनमा नै समस्या रहेको बताएका हुन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ का वडा सदस्य मीरा पन्त बोहोराले भनिन्, ‘हाम्रो वडामा १ जना महिला हुनुहुन्छ, उहाँको केही पहिचान छैन । पहिचान नभएका व्यक्तिको जन्मदर्ता र अन्य अभिलेख कसरी राख्ने ?’
हुम्लाको नाम्खा गाउँपालिका पञ्जीकरण शाखाका प्रमुख रेशम खड्काले नाम्खा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या रहेको भन्दै यसलाई सहज बनाउन आग्रह गरे । ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाबापत मासिक रूपमा पाउँदै आएको वृद्धभत्ता लिन कठिन भएको, ग्रामीण क्षेत्रमा बैंकसम्म पुगेर बुद्ध, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई पनि भत्ता लिन समस्या हुने गरेको गुनासो सहभागीले गरेका थिए । कतिपय स्थानीय तहका कर्मचारीले आफूहरूले रकम निकासा गरे पनि बैंकले समयमै वितरण नगर्दा समस्या भइरहेको बताए ।