
विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता बनेकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहाल शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् ।
त्रिधार्मिकस्थल हलेसीस्थित महेन्द्रोद्धय माध्यमिक विद्यालयबाट आइतबार दिउँसो करिब तीन बजेतिर घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी दाहाल आज बिहान आफ्नै घर नजिकै रहेको खन्यु (घाँसजन्य वनस्पति) को फेदमा मृत फेला परेकी हुन् ।
महेन्द्रोद्धय मावि हलेसीको कक्षा–१० मा अध्ययनरत उनी भोलि (माघ–३ गते)देखि विद्यालयमा आयोजना गरिएको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे तीन बजेतिर घर फर्केकी थिइन् ।
बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी उनी घरभन्दा करिब २०० मिटर टाढा मृत फेला परेकी छन् । विद्यालयबाट घर फर्केकी छोरी बाटैमा मृत फेला परेपछि परिवार शोकमा परेको छ । घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए ।
घटनाको वियषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए ।