काठमाडौं,५ भदौ- संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सुरुङमार्गमाथि जहाज पार्किङ गर्ने योजना ‘हावादारी' भएको बताएका छन्।

सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो ट्राफिक समस्या व्यवस्थापनका लागि सुरुङमार्गमाथि जहाज पार्किङ गर्ने योजना अघि सारेको छ। यो योजना कार्यान्वयन गर्न नसकिने भन्दै सचिव अधिकारीले विरोध गरेका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गरिने उल्लेख छ। यसअन्तर्गत विमानस्थलसँगैको कोटेश्वर-सूर्यविनायक सडकमा सुरुङ निर्माण गरिनेछ। सुरुङमार्ग निर्माणपछि तलबाट सवारीसाधन गुडाउने र माथि जहाज पार्किङस्थल बनाएर विमानस्थलको धावनमार्ग विस्तार गर्ने सरकारी योजना छ।
विमानस्थलको सुरक्षाका विषयमा एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनले आयोजना गरेको कार्यक्रममा सचिव अधिकारीले अर्थको ‘अ' पनि नबुझेको व्यक्तिले सुरुङमाथि जहाज पार्किङ गर्ने भने योजना ल्याएको आरोप लगाए। ‘यो हावादारी योजना हो', उनले भने, ‘आर्थिक र प्राविधिक दुवै रूपले यो काम सम्भव छैन।'