२६ जेठ २०८३, मंगलबार

टाइगर कप फाइनल : खेल भइरहेका बेला दर्शक र खेलाडीबीच बोतल हानाहान

टाइगर कप फाइनल : खेल भइरहेका बेला दर्शक र खेलाडीबीच बोतल हानाहान

पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको आज भएको फाइनलमा खेलाडीमाथि बोतल प्रहार भएको छ ।

पोखराको रंगशालामा आयोजित उक्त खेलमा आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो ।

खोँचाखोँच दर्शकले भरिएको खेल मैदानमा आज ५००० भन्दा बढी दर्शकले खेल खेल हेरेका थिए।

खेल सञ्चालन गराउने क्रममा आयोजकले पनि सुरक्षाको विषयलाई खासै चासो नदिएको र क्षमताभन्दा बढी दर्शकलाई प्रवेश गराएकै कारण यस्तो हुन पुगेको दर्शकहरूले बताएका छन्।

खेल सञ्चालनका क्रममा पछाडि रहेका दर्शकलाई खेल हेर्न असहज भएपछि केहीले सशस्त्रका खेलाडीहरूलाई बसिदिन आग्रह गरेका थिए ।

त्यसै क्रममा खेलमा सहभागी खेलाडी रिसाएपछि खेल मैदानमा विवाद उत्पन्न भएको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले दर्शकलाई सम्झाउन प्रयास गरे पनि आक्रोशित भीडले उल्टो खेलाडीमाथि नै बोतल प्रहार गरेका हुन् ।

आफूमाथि प्रहार भएपछि सशस्त्रका खेलाडीहरूले दर्शकसामु बोतल प्रहार गरेका थिए। उक्त क्रममा दोहोरो बोतल हानाहान भएको थियो।

केही समय तनाव भएपछि आयोजकले सुरक्षा घेरामा राखेर खेल खेलाएका थिए।

आज सम्पन्न खेलमा गण्डकी प्रदेशले उपाधि जितेको छ भने सशस्त्र उपविजेता बनेको छ।

salt training

कमेन्ट गर्नुहोस्