पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने ।
– शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने ।
– सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने ।
– पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने ।
निवासबाहिर भक्तजनहरूको लाइन प्रदर्शन गर्दै भित्र माफियाहरूलाई सोफामा विराजमान गराउने अनि राजकीय संरचनाहरूलाई नातावाद र गुटवादको इपिसेन्टरमा परिणत गर्ने । हामीले कहिल्यै यस्तो लोकतन्त्रको परिकल्पना गरेका थिएनौं । कृपया ‘ब्याक टु सोसाइटी’ ।
हेलो नेताजी, तपाईंहरूले निरंकुशताविरुद्ध लोकतन्त्र, असमानता र अन्यायविरुद्ध, न्याय र समानताका लागि विभेद र भेदभावविरुद्ध कानूनी शासनको वकालत गर्दै जिन्दावाद भन्दै सडकमा ओर्लिएकाहरूको अवस्था के छ ? एकपटक त्यो धरातलमा फर्किनुस् । खासगरी सुशासनको नारामा देशभर प्रदर्शन र सामाजिक सञ्जालमा कोकोहोलो गर्ने तपाईंहरू एकपटक आफ्नो विगत अभियानतिर फर्किनुस् । स्वार्थ बाझिने गरी माफियाहरूको भागमा पारिएका मन्त्रालयहरूले दिन खोजेको सन्देश के हो ? सबै प्रस्ट भइसक्यो ।
सिंहदरबारबाट मुस्किलले ५ किलोमिटर पर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुस्, दैनिक विदेश जाने झण्डै ३ हजार युवाहरूको अनुहार पढ्नुस् । अँ एकछिन पर्खिनुस् र सोध्नुस् । कफिनमा प्याक भएर आउने दैनिक ६–७ वटा शवहरू हेर्नुस् त ! यति गरिसकेपछि तपाईंको हृदयमा उत्पन्न करुणाको प्रतिक्रिया मष्तिस्कले कसरी दिन्छ ? त्यसलाई आफ्नो राजनीतिक जीवनको दृढ अठोट र कठोर संकल्प सहितको प्रतिबद्धतामा ढाल्नुस् । विमानस्थलबाट फर्केपछि कुनै दिन फुर्सद मिलाएर सिंहदरबारबाट मुस्किलले १ किलोमिटर पर त्रिपुरेश्वरस्थित पासपोर्ट वितरणस्थल जानुस् र युवाहरूको लाइन हेर्नुस् ।
तपाईं सिंहदरबार प्रवेश गर्दा वा फर्किंदा माइतीघर मण्डलामा यो संरचनाको पिँधका मान्छेहरू अनशनमा रहेको, धर्नामा रहेको, प्लेकार्ड, ब्यानर र कहिलेकाहीँ माइकिङसहित उपस्थित रहेको देखिरहनुभएको छ । कालो सिसा भित्रैबाट पनि त्यतापट्टि हेर्ने कष्ट गर्नुस् । ती मान्छेहरू क्वार्क वा अमिबाभन्दा ठूलै छन् ।
भलै कमिला नै सम्झिनुस्, कमिला आँखाले देख्न सकिन्छ । त्यसैगरी आँखाले हेरेर त्यो दृश्यको सञ्चार मष्तिस्कसम्म पुग्ने समय दिनुस्, थोरै समय तपाईंको कठोर हृृदयलाई पनि दिनुस् । उसले त्यस्ता दृश्यहरू अनुभूत गर्ने समय पायो भने तपाईंको कठोर हृदय भावुक पो बन्छ कि ? अनि तपाईं साँच्चै यो देशका पिँधका मान्छेहरूको पक्षमा काम गर्न थाल्नुहुन्छ कि ?
यदि तपाईं थप समयको म्यानेज गर्न सक्नुहुन्छ भने भक्तपुरको सानोठिमीस्थित ‘नो अब्जेक्सन लेटर’ (एनओसी) वितरण गर्ने कार्यालयको भीड हेर्नुस् । जहाँ विदेश पढ्न जाने विद्यार्थीहरूको तनावपूर्ण अनुहारका रेखाहरूलाई तपाईं सहजै पढ्न सक्नुहुन्छ । यदि तपाईं मुलुकको युवा पलायनबारे गम्भीर र संवेदनशील हुनुहुन्छ भने देशका अधिकांश सीमानाका जहाँबाट पासपोर्ट विना छिमेकी मुलुक भारत आवतजावत हुन्छ, त्यसको पनि रेकर्ड राख्न लगाउनुस् र ती डेटाहरूलाई तथ्यांकमा ल्याउनुस्, त्यसपछि देशवासीलाई भन्नुस्, कुन वाद र विचारधारा, कुन सिद्धान्त र राजनीति अनि कुन गठबन्धन र नेताले यस कहालिलाग्दो अवस्थाबाट मुक्ति दिन्छ ?
के तपाईंहरू देशको डरलाग्दो भविष्यको यो चित्र बदल्न योग्य हुनुहुन्छ ? हुनुहुन्छ भने एउटा साझा प्रतिबद्धता गर्नुस् र देशवासीका नाममा सम्बोधन गर्दै समय माग्नुस् । ५ वर्ष वा १० वर्ष कति हो ? हामीले तपाईंहरूसँग मागेको जम्माजम्मी प्रतिबद्धता यत्ति हो, हाम्रो अपेक्षाको आकार पनि योभन्दा ठूलो छैन ।
हामीले स्वर्णयुग, समृद्धिको युग, चन्द्रमामा यान पठाउने, अन्तरिक्षमा सेटेलाइट राख्ने, अझ भनौं बंगालको खाडीमा ध्वजाबाहक नेपाली पानीजहाज सयर गराउने यस्ता अनगिन्ती सपनाहरूलाई केही समय दराजमा थन्क्याउन सक्छौं । पहिले मात्रै देशको युवा पलायन, बौद्धिक पलायन, भ्रष्टाचार, संरचनाको पिँधका पीडितहरूको अन्याय, अस्तव्यस्तता, अव्यवस्थालाई निर्मूल होइन, ती प्रत्येक सीमान्तकृत नागरिकलाई अनुभूत हुने गरी न्युनीकरण गरिदिनुस् ।
अर्को प्रश्न हो – जनताको नाममा राष्ट्रिय राजनीतिमा उदाएका तपाईंहरूले ईश्वर वा जनताका नाममा शपथ लिनुभयो, भाषाशैली जेसुकै भए पनि त्यसको आशय र मर्म देश र जनताकै पक्षमा काम गर्छाैं भन्ने होला होइन र ? यदि जनतामाझ गरिएका वाचा कृत्रिम होइनन् र व्यवस्थापिकादेखि कार्यपालिकासम्म लिइएका शपथहरू कर्मकाण्डी परम्पराका औपचारिक मन्त्र मात्र नभई ती जीवन व्यवहारका प्रण हुन् भने तपाईंहरूका वरिपरि परिवार, आफन्त, बिचौलिया र माफिया मात्रै सक्रिय हुनुपर्ने कारण के हो ? यी जनताका प्रश्नहरू हुन्, यस्तै प्रश्नहरूले तपाईंहरूको स्पेस खुम्चिँदै गएको छ । आलोचनाबाट निधार खुम्च्याउँदै भागेर आफ्नो आकार थप खुम्च्याउने वा जनताकोे नजरमा गलत देखिएको र तपाईंको बाध्यताले सही देखेको व्यवहार सच्याउने ? त्यो निर्णय गर्ने जिम्मा तपाईंमाथि छ ।
हामीले हाम्रा नेताहरूसँग सार्वभौम दृष्टिको अपेक्षा गरेका छैनौं । युरोपको अनिश्चितता, अमेरिकी दिग्भ्रम, चिनियाँ तटस्थता, रसियन पुनरोदयको दुस्साहसको जोखिमपूर्ण यात्रा र भारतीय अलमलको निकास दिन तपाईंहरूले वैचारिक र राजनीतिक नेतृत्व दिनुपर्छ भन्ने आशा, आग्रह, अपेक्षा र चाहना राखेका छैनौं ।
अमेजन, फेसबूक, ट्विटर लगायत विश्वका विशाल सेवामूलक कम्पनीहरूका हजारौं कर्मचारी हटाउने निर्णयलाई रोक्न पहल गर्नुस् वा ती बेरोजगार स्किलफुल श्रमिकहरूलाई रोजगारीको वैकल्पिक व्यवस्था गर्नुस् भन्ने माग गरेका छैनौं । लाखौं डलर खर्चेर अन्तरिक्ष घुम्ने योजना बनाएका पर्यटकलाई रोकेर गरीब निमुखालाई स्वास्थ्य शिक्षामा लगानी गर्न बाध्य पार्नुस् भनेका छैनौं । न त विश्वका १ प्रतिशत धनाढ्यहरूको हातमा रहेको विश्वको आधाभन्दा बढी सम्पत्ति खोसेर टाउकोमाथि छत र जिउमा मौसम अनुसारको लुगा नपाएकाहरूलाई व्यवस्था गर भनेका छौं । मात्रै हामीसँग उपलब्ध स्रोतसाधन र जनशक्तिको व्यवस्थापनमा केन्द्रित बन्नुस् भन्ने आग्रह हो ।
आ–आफ्नो पार्टीभित्र लोकप्रिय उदारवादका प्रवक्ता र समाजवादका प्रवचकहरूसँग हामी गम्भीरतापूर्वक इमान्दारिताका साथ प्रश्न गर्न चाहन्छौं – अप्रसांगिक विषयहरूको प्रशंसा, जानकारी आदानप्रदान र दैनिक जीवन व्यवहारमा उपयोगी नहुने विषयवस्तुको कथाकहानीमा समय खर्चिनुको साटो ग्रामीण बेरोजगारहरू, असन्तुष्ट शहरीया वर्ग र त्रिभुवन युनिभर्सिटीका डिग्रीधारी बेरोजगारहरू जो अझै आशावादी छन्, उनीहरूलाई आकर्षित गर्न र तिनका समस्या सम्बोधन गर्न समय खर्चिनुस् ।
बीपीमाथि महामानवको मिथक भिराइदिएर, मदन भण्डारीमाथि जननेताको मिथक भिराइदिएर अनि प्रचण्डमाथि प्रचण्ड पथको मिथक भिराइदिएर मात्रै समयले सकारात्मक बाटो लिने छैन । यदि तपाईंलाई वर्तमानमा जिउन इतिहासको सहारा लिनैपर्ने बाध्यता हो भने सिक्काको अर्को पाटोलाई पनि हेर्नुस्, दुईतिहाइ बहुमतका बाबजुद बीपीले बहुदल जोगाउन सकेनन्, बरु आफैं कारागारको यातना शिविरमा रहे । उनको मृत्युको ६ वर्षपछि मात्रै बहुदलीय व्यवस्था पुनःस्थापना भयो ।
मदन भण्डारीले एउटा कम्युनिस्ट पार्टीलाई राजाको श्रीपेचमुनि बन्धक राखे र संवैधानिक राजतन्त्र स्वीकार गरे । राजतन्त्रात्मक व्यवस्था र कम्युनिस्ट सरकार एकैसाथ चल्नु कुनै वैचारिक तालमेल र दृष्टिकोणको स्वाभाविक चरणका रूपमा लिन सकिन्छ र ? सापेक्षिक रूपमा प्रचण्डले गणतन्त्र ल्याए ।
गणतन्त्र अघिको अन्तरिम सरकारमा पनि उनी सहभागी भएनन् र गणतन्त्रको पहिलो प्रधानमन्त्री बनेपछि मात्रै उनले सत्तायात्राको शुरूआत गरे । गणतन्त्रको स्थापना, गणतान्त्रिक संविधान, राज्यको शासकीय स्वरूप जस्ता थुप्रै परिवर्तनकारी कार्य सम्भव बनाएका प्रचण्ड संविधान जारीपछिको राजनीतिक संक्रमणमा अल्झिएका छन् । आफूले ल्याएको व्यवस्था टिकाउन, त्यसलाई स्थायित्व दिन र त्यसको रक्षा एवं विकासका लागि प्रचण्ड गतिशील वा अस्थिर बन्नैपर्नेछ । संगठनको दायरा फराकिलो नभएकै कारण आफ्नो व्यक्तित्व, कर्तव्य र दायित्व एवं दलको आकारबीच सन्तुलन कायम हुन नसक्दा अस्थिरता उनको बाध्यता बनेको छ तर परिस्थितिले अब प्रचण्डपथको गुणगान गाउँदैै सुप्रिमो टर्मिनोलोजीको बजनदार सम्बोधनले मात्रै पार्टी राजनीतिलाई दिशानिर्देश गर्न सकिने छैन ।
बजारका तमाम राजनीतिक विश्लेषकहरूले माओवादीको भविष्यवाणी गर्छन् अर्थात् उनीहरूको पूर्वानुमान के छ भने अब माओवादीको प्रत्यक्ष तर्फको सिट २ अंकको बन्न सम्भव छ ? निःसन्देह माओवादी कार्यकर्ताहरूलाई स्तब्ध तुल्याउने गम्भीर प्रश्न हो यो । यसको सटिक जवाफ के हो भने स्वीकार गर्ने हिम्मत र सुधार गर्ने नियत छ भने माओवादीले अझै चमत्कार गर्न सक्छ । अर्थात् माओवादीको ‘रिभाइभ’ सम्भव छ ।
यदि सफलताका लागि माओवादीले आफूलाई तयार पार्न खोज्ने हो भने आफ्नो बाटो आफैंले तय गर्नुपर्छ । आफूले बनाएको बाटोमा हिँड्दा सफलता प्राप्त गर्नबाट कसैले रोक्न सक्दैन । भीडमा हिँड्न त हामीलाई कुनै समस्या छैन तर भीडमा हिँड्दा हामीले आफ्नो शक्ति बिर्सिंदै गयौं । जसले गर्दा हामीलाई आफ्नो शक्तिमाथि विश्वास रहेन अनि हामी सफलताका लागि तड्पिनुपर्ने ठाउँमा पुग्दैछौं । त्यसकारण गल्तीलाई स्वीकार गर्दै त्यसलाई सुधार गर्यौं भने हामीले गल्तीबाट थुप्रै पाठहरू सिक्ने छौं । जो आगामी यात्राका लागि हामीसँग परिपक्व अनुभवको एक निर्णायक तत्व हुनेछ ।
तर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई सुप्रिमो र हेडक्वार्टर भन्दै घेराबन्दी गर्ने, आरती गाइरहने एउटा सानो भजनमण्डलीलाई त्यस कुराको कुनै चिन्ता रहेन र आफ्नो स्पेसका लागि त्यसले समाजको आजका चरित्र, प्रवृत्ति र विकासबारे बुझेर नयाँ रणनीतिमा सहयोगी बन्ने नेता कार्यकर्ताहरूको पंक्तिलाई ढोका बन्द गर्यो भने हाम्रो एल आकारको ओरालो यात्रालाई कसैले यू आकारमा लानसक्ने छैन । केही समय आफ्नो रवाफिलो राजनीतिक करिअर सुरक्षाका लागि एकाध साथीहरूको एउटै रेडिमेड जवाफ छ – हिजो पनि हामीले प्रचण्डलाई साथ दियौं र आज पनि हामीले छोड्दैनौं । खबरदार हिजो प्रचण्डको विरोध गर्नेहरू ... ।
प्रचण्डको मष्तिस्कका न्युरोनहरूले देउवाको दिमागमा क्रेडिबिलिटी डिपोजिट र ओलीको दिमागमा अर्थपूर्ण भिजिट एकैसाथ गर्छन् तर पार्टीभित्र र बाहिरका सक्षम, इमान्दार र प्रतिभावान मान्छेहरूलाई संगठनको जिम्मेवारीमा ल्याउन चाहने उनको दिमागका न्युरोनहरूलाई पनि ह्याङ बनाउने एउटा सानो घेराले आफ्नो पार्टीभित्रैका दिमागलाई रिड गर्न रुचाउँदैन ।
त्यस प्रवृत्तिलाई पार्टीमा योग्य र दक्ष मानिसहरूलाई ‘हाई’ गर्नुभन्दा ‘गुड्वाई’ भन्न हतारो देखिन्छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो । त्यसपछि खाली पेटमा ए...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...