मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
फागुन ४, २०७९
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नी नौ वर्षीया छोरी किम जु आएलाई उत्तराधिकारी बनाउन खोजेको आकलन गर्न थालिएको छ ।
एक साताअघि राजधानी प्योङयाङमा किम र उनकी छोरीले विशाल सैन्य परेडको अवलोकन गरेका थिए । त्यतिखेर दुवैजनालाई निकै महत्त्व दिएर त्यहाँका सञ्चारमाध्यमले सामग्री प्रस्तुत गरेका थिए ।
किमकी छोरी जु आए विगत तीन महिनामा पाँचौंपटक सार्वजनिक स्थानमा देखिएको एसोसिएटेड प्रेसका किम तोङ ह्युङ लेख्छन् । त्यसअघि किमले छोरीलाई सैनिकहरूसँगको भेटघाट तथा भोजमा पनि सँगै लगेका थिए ।
जु आएलाई पहिलोपटक गत नोभेम्बर महिनामा सार्वजनिक स्थानमा देखिएको थियो । त्यतिखेर उत्तरले अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको प्रक्षेपण गर्न लागेको थियो । त्यतिखेर नै किमको उत्तराधिकारीको हल्ला चलेकोमा त्यसपछि लगातार किमलाई छोरीसँग देखिएपछि अनुमानमा थप बल पुगेको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यममा जु आएको चर्को प्रशंसा गरिएको पर्यवेक्षकहरू बताउँछन् । उनी किमकी दोस्रो सन्तान भएको र उनलाई किमले असाध्यै माया गर्ने गरेको समाचारहरूमा उल्लेख हुने गरेको छ । त्यहाँका सञ्चारमाध्यमले उनका लागि ‘सम्मानित’ र ‘प्रिय’ जस्ता शब्दहरू उपयोग गर्ने गरेका छन् ।
उत्तर कोरियाली राजनीतिमा ती शब्दहरूको आफ्नै किसिमको अर्थगौरव रहेको संकेत बीबीसीका सौल संवाददाता जीन म्याककेन्जीले दिएका छन् । उनका अनुसार, जु आएलाई सरकारी सञ्चारमाध्यमले पहिलोपटक परिचय दिँदा ‘प्रिय’ पुत्री भनेको थियो ।
तर गत साता उनको हैसियत बढाएर ‘सम्मानित’ पुत्री भन्न थालिएको थियो । यस्तो विशेषण सर्वोच्च सम्मान प्राप्त गर्ने नेतालाई मात्र दिइने म्याककेन्जी लेख्छन् ।
किम स्वयंलाई भविष्यका सर्वोच्च नेताको हैसियत दिने पक्का भएपछि ‘सम्मानित कमरेड’ भनी बोलाउन थालिएको थियो ।
गत साता नै उत्तर कोरियाको सरकारी छाप निकायले सार्वजनिक गरेको नयाँ छापको डिजाइनमा किम जु आएलाई पनि चित्रित गरिएको छ । गत नोभेम्बर महिनामा परीक्षण गरिएको ह्वासोङ–१७ अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सम्झनास्वरूप बनाइएका छापमा जु आए पनि अटाएकी हुन् ।
अनि किमकी छोरी समेत उपस्थित भएको उत्तर कोरियाली सेनाको स्थापनाको ७५औं वार्षिकोत्सवका अवसरमा गत बुधवार गरिएको परेड आफैंमा महत्त्वपूर्ण थियो । त्यसमा ठोस इन्धनले चलाउन मिल्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको प्रदर्शन गरिएको थियो ।
किमले आगामी केही महिनामा त्यस क्षेप्यास्त्रको परीक्षण गर्ने आकलन विश्लेषकहरूले गरेका छन् । तरल इन्धनबाट चल्ने क्षेप्यास्त्र भन्दा ठोस इन्धनबाट चल्ने क्षेप्यास्त्र छिटो प्रक्षेपण गर्न सकिन्छ अनि शत्रुले प्रतिक्रिया जनाउन पाउनुअघि नै ध्वस्त पारिदिने क्षमता राख्छ ।
विनाशक क्षेप्यास्त्र देखाइएको उक्त सैन्य परेडअघि एउटा भोजको तस्वीर सार्वजनिक गरिएको थियो । त्यसमा किम र उनकी पत्नीका साथै छोरी जु आए पनि बीचमा बसेको अनि सेनाका जनरलहरू उनीहरूको वरिपरि रहेको देखिएको थियो ।
यी सैन्य समारोहहरूमा छोरीलाई पनि आफूसँगै राखेर किमले दुईवटा सन्देश दिन खोजेको सीएनएन डट्कमका ब्राड लेन्डन लेख्छन् । पहिलो, उत्तर कोरियामा किम परिवारको वंशजले नै सत्ता चलाइरहनेछ । दोस्रो, किमसँग आणविक हतियार भएकाले कसैले पनि उनको सत्तालाई चुनौती दिन सक्दैन ।
तर जु आएलाई उत्तराधिकारीका रूपमा किमले प्रस्तुत गर्न खोजेको भन्नु हतारो हुने दक्षिण कोरियाको धारणा रहेको एपीका ह्युङ–जिन किम लेख्छन् । उनका अनुसार, सौलमा आयोजित संसदीय समितिको बैठकमा कोरियाली एकीकरणमन्त्री क्वोन योङसेले किमकी छोरीलाई उत्तराधिकारी बनाउन लागिएको अनुमानमा प्रश्न गरे । क्वोनले किमको उमेर जम्मा ३९ वर्ष पुगेको र उत्तर कोरियामा पितृसत्तावादी शक्ति मर्यादाक्रम रहेको स्मरण गराए ।
हुन पनि उत्तर कोरियाको वंशीय राजनीतिमा किम परिवारबाट पुरुषहरू मात्र सर्वोच्च पदमा पुगेका छन् । दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९४८ मा किम इल सुङ सत्तामा आएपछि किम परिवारको शासन शुरूआत भएको थियो ।
इल सुङको सन् १९९४ मा मृत्यु भएपछि उनका छोरा किम जोङ इलले सत्तारोहण गरे । अनि जोङ इल सन् २०११ मा बितेपछि उनका छोरा किम जोङ उन सत्तामा पुगेका हुन् ।
अनि किम जोङ उनको पहिलो सन्तान एक छोरा भएको द कोरिया हेराल्ड पत्रिकामा यून मिन–सिकले लेखेका छन् । उनले दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवालाई उद्धृत गर्दै किमका छोरा सन् २०१० मा जन्मेको उल्लेख गरेका छन् ।
जेठो सन्तान, त्यो पनि छोरा, हुँदाहुँदै किमले छोरी जु आएलाई उत्तराधिकारीको अनुमान गराउने गरी संसारसामु प्रस्तुत गर्नु आफैंमा रहस्यमय छ । किमले नियुक्त गर्ने उत्तराधिकारीलाई समर्थन गर्ने प्रमुख पात्रका रूपमा मात्र जु आए उभिन सक्ने अनुमान अमेरिकाको थिंकट्यांक सेन्टर फर ए न्यु अमेरिकन सिक्योरिटीका वरिष्ठ विश्लेषक डुयोन किमले गरेका छन् ।
हुन त किम परिवारको कुनै सदस्यले सञ्चारमाध्यममा अलि बढी कभरेज पाउनेबित्तिकै उत्तराधिकारको अनुमान गर्न थालिने नौलो हैन ।
सन् २०१८ मा किम जोङ उन र अमेरिकाका तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पबीच वार्ता हुँदा किमकी बहिनी किम यो जोङ सक्रिय बनेकी थिइन् । त्यसपछिका वर्षमा पनि उनी सार्वजनिक स्थानमा देखिने र कडा बयान दिने गरिरहेकी थिइन् । उनको त्यस गतिविधिलाई पनि पश्चिमा सञ्चारमाध्यमहरूले उत्तराधिकारी बनाइने पृष्ठभूमिका रूपमा हेरेका थिए ।
जु आएलाई किमले सार्वजनिक स्थानमा आफूसँग देखाउनु उत्तर कोरियाप्रति विश्वको ध्यानाकर्षण गर्ने प्रचारबाजी मात्र कतिपयले ठानेका छन् ।
सन् २०२२ मा लगातार क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियाका लागि यो सामान्य विषय भएको सन्देश अन्य मुलुकका मानिसलाई गएपछि उनीहरूले वास्ता गर्न छाडेको दक्षिण कोरियाका सेवानिवृत्त सैन्य जनरल चुन इन–बुमले सीएनएनका ब्राड लेन्डनलाई बताए । त्यसैले उत्तर कोरियाप्रति पुनः विश्वको ध्यानाकर्षण गराउन किमले आफ्नी छोरीलाई सार्वजनिक स्थानमा देखाएर अनुमानका खेतीलाई मलजल गरेको उनको भनाइ छ ।
तर एउटा कुरा चाहिँ पक्का हो । किम परिवार आफूलाई कोरियाको पवित्र पाएक्तु पर्वतबाट निःसृत भएको मान्छ र कोरियाको शासन त्यही पवित्र रगत भएको व्यक्तिले मात्र गर्न पाउने धारणा राख्छ । त्यसैले किम परिवारको सदस्यबाहेक कसैले पनि उत्तर कोरियाको शासन गर्ने कल्पना गर्नै सक्दैन ।
त्यस अर्थ जु आएलाई किमले उत्तराधिकारी बनाउन खोजेका हुन् भने पनि कुनै आश्चर्यको कुरा हैन । किम परिवारबाहेकको व्यक्ति शासक भयो भने चाहिँ घोर आश्चर्य हुनेछ ।
तर कोरियाली समाज पितृसत्तात्मक भएकाले महिला शासकप्रति समाजलाई अभ्यस्त बनाउन कठिनाइ हुने कुरा पनि शायद किमले बुझेका छन् । त्यसैले अहिलेदेखि नै उनले जु आएलाई सार्वजनिक स्थानमा देखाएर सम्भावित महिला शासकप्रतिको सम्मानभाव जगाउन खोजेका हुन सक्छन् ।
तर यो पनि पूर्ण सत्य हैन । उत्तर कोरियामा सर्वसाधारणको कुनै हैसियत छैन । त्यहाँ किम परिवार र सेनाको हैकम नै चल्ने गर्छ । सेनासँग घनिष्ठ सम्बन्ध रहेकैले किम परिवार अविच्छिन्न रूपमा सात दशकभन्दा बढी समय शासन गर्दै आइरहेको छ ।
किमले आफ्नी छोरीलाई वरिष्ठ सैन्य अधिकृतहरूको भोजमा र क्षेप्यास्त्र परीक्षण स्थलमा लगेर सेनालाई छोरीप्रति सकारात्मक अवधारणा निर्माण गराउन खोजेका पनि हुन सक्छन् । बीबीसीका जीन म्याककेन्जीका अनुसार, किम स्वयं आठ वर्षको हुँदा उनका पिता जोङ इलले उत्तराधिकारी बनाएका थिए तर त्यसका बारेमा शीर्ष सैन्य अधिकृतहरूलाई मात्र बताएका थिए । सार्वजनिक रूपमा चाहिँ किमलाई जोङ इलको मृत्युको एक वर्षअगाडि मात्र उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको थियो ।
किम जु आएलाई सार्वजनिक स्थानमा देखिनुका पछाडि किम जोङ उनको के रणनीति छ भन्ने कुरा यकिनका साथ भन्न सकिन्न । तर उनलाई पछिसम्म पनि किमले आफूसँगै सार्वजनिक स्थलमा लिएर जाने गरेमा उनी किमको उत्तराधिकारी हुन् भन्ने आकलनलाई बल पुग्नेछ ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...