
राजनीतिक शक्ति दुरुपयोग गरेर कसरी भ्रष्टाचार हुन्छ भन्ने उदाहरण यतिबेला भारतमा देखिएको छ ।
भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले राष्ट्रिय जनता दल (राजद) प्रमुख लालू यादवमाथि गरिरहेको भ्रष्टाचार छानबिनमा बजार मूल्य २ अर्ब ४० करोड रहेको घर ६ लाखमा खरिद गरिएको देखिएको छ ।
राजधानी नयाँदिल्लीको न्यु फ्रेन्डस कलोनीमा लालूका छोरा तेजस्वीले कौडीको भाउमा घर किनेको देखिएको छ । यो सम्पत्ति खरिदमा भ्रष्टाचारको पैसा खर्च भएको हुनसक्ने अनुमान गर्दै थप अनुसन्धान भइरहेको छ ।
सो घरलाई यतिबेला एबी एक्सपर्टस् प्रालि र एके एन्फोसिस्टम्स प्रालिको कार्यालयको रूपमा देखाइएको छ तर तेजस्वी यादव हाल सोही घरमा बसिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजद प्रमुख लालू रेलमन्त्री हुँदा भएको घोटालामा छानबिन गर्ने क्रममा ईडीले घर खरिदको तथ्य बाहिर ल्याएको हो । घरमा छापामारी गर्दा १ करोड भारु नगद र सवा करोड मूल्य बराबरका गहना समेत बरामद गरिएका जनाइएको छ ।