
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले राजनीतिक स्थिरताका लागि दलहरूले आन्तरिक समीक्षा गर्नुपर्ने बताएका छन् ।
फोकस नेपालको दशौं वार्षिकोत्सवका अवसरमा बिहीवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष रेग्मीले सो कुरा बताएका हुन् ।
'स्थिर सरकार निर्माण गर्ने संवैधानिक प्रबन्ध र असल अभ्यासको सुसंस्कृत व्यवहारमा राजनीतिक दलहरूको सामर्थ्य र क्रियाकलाप कस्तो रह्यो ? दलहरू आफैंले समीक्षा गरे सुधारको खाका आइहाल्छ होला,' पूर्वअध्यक्ष रेग्मीले भने ।
त्यसक्रममा वर्तमान शिक्षा नीति र आगामी चुनौतीहरू विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै रेग्मीले शिक्षा नीतिमा पनि निर्मम समीक्षा गरी व्यापक सुधारका साथ अगाडि बढ्नुपर्ने बताए ।
सिर्जनशील र सीपमूलक जनशक्तिविना देशको समग्र विकास र समृद्धिको यात्रा कोरा कल्पनामा मात्र सीमित हुने उनको भनाइ छ ।
प्रारम्भिक शिक्षादेखि नै शिक्षा र ज्ञानका मूलभूत कुराहरू सिकाउँदै गए मात्र असल र चरित्रवान् बन्ने प्रेरणा विद्यार्थीमा जागृत हुने भन्दै उनले विकास र समृद्धिका लागि गन्तव्य पहिल्याउँदै अगाडि बढ्नुपर्ने बताए ।
मूल नीति र व्यवहार स्थिर रूपमा लक्षित गन्तव्यतर्फ गतिवान भए मात्र शिक्षा लगायतका अन्य क्षेत्रको विकास एवं समृद्धिको यात्रा सुगम र अपेक्षित गन्तव्य पहिल्याउँदै अघि बढ्ने हो,' उनले भने, 'आशा गरौं, विगतको कमीकमजोरी र अनुभवले रचनात्मक भविष्यतर्फ उन्मुख हुन अवश्य प्रेरित गर्नेछ । परन्तु कठोर प्रतिज्ञा र समर्पणविना के पो हुन्छ र ?