
मौलिक नेपाली फिल्मका प्रणेता मानिने वरिष्ठ निर्देशक प्रताप सुब्बाको निधन भएको छ ।
दार्जिलिङमा बस्दै आएका उनको सिलीगुडिस्थित एक अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । उनी ७८ वर्षका थिए ।
दार्जिलिङमा जन्मिएका सुब्बाले निर्देशन गरेको ‘परालको आगो’ नेपाल बाहिरबाट बनेको पहिलो मौलिक नेपाली फिल्म थियो ।
सुब्बाले दार्जिलिङका रंगमञ्चका प्रसिद्ध अभिनेता टंक शर्मा र नेपाली रंगमञ्चकी प्रसिद्ध अभिनेत्री बसुन्धरा भुषाललाई नायक–नायिकाका रुपमा ‘परालको आगो’बाट ब्रेक दिएका थिए ।
दार्जिलिङमै रहेर ‘बाँच्ने चाहने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘मसाल’ जस्ता फिल्म बनाएका सुब्बा लेखक÷निर्देशक नीर शाहका अनुसार बंगाली निर्देशक सत्यजित रे र मृणाल सेन ‘स्कुल अफ थट’का निर्देशक हुन् ।
४० को दशकमा नेपाल आएका उनी थुप्रै टेलिफिल्म र केही फिल्म बनाएर ५० को दशकमा फेरी दार्जिलिङ नै फर्किए ।
सुब्बाले नेपालबाट ‘दिदी’, ‘भिष्म प्रतिज्ञा’, ‘चट्याङ’ जस्ता फिचर फिल्महरू बनाए ।
पछिल्लो समय उनले फिल्म नबनाए पनि बनाउनेको बीचमा भने सधैँ चर्चामा रहने गरेका थिए ।
लेखक, निर्देशक एवं निर्माता प्रकाश सायमी प्रताप सुब्बालाई नेपाली फिल्म क्षेत्रले पाएको विएस थापा र प्रकाश थापापछिको महत्वपूर्ण निर्देशक मान्छन् ।
सुब्बाको निधनमा फिल्मकर्मीहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् ।