
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले सकारात्मक दृष्टिकोण र सोच राखेर काम गर्न सहसचिवहरूलाई निर्देशन दिएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४४ औँ वरिष्ठ कार्यकारी विकास तालिमको दीक्षित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
सकारात्मक दृष्टिकोण र सोच राखेर कार्यसम्पादन गर्दा परिणाम निस्किने बताउँदै मन्त्री मोदीले भने, “मूल रूपमा अहिले निजामती कर्मचारीहरूले सकारात्मक सोच र दृष्टिकोण राखेर काम गर्नुपर्ने अवस्था छ ।”
मन्त्री मोदीले प्रविधिको उच्चतम विकासलाई ख्याल गरेर कार्यसम्पादनमा सुधार गर्न समेत निर्देशन दिए । समयअनुसारको निर्णय र आचरणमा सुधार गर्नुपर्ने पनि मन्त्री मोदीको भनाई थियो ।
व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न पनि मन्त्री मोदीले निर्देशन दिए । कर्मचारीहरूमाथि सेवाग्राहीको सकारात्मक दृष्टिकोण नरहेकाले उनीहरूको दृष्टिकोण बदल्ने गरी काम गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो ।
मन्त्री मोदीले सरुवामा व्यवस्थित प्रणालीको जरुरी भएकाले आफ्नो पालामा व्यवस्थित सरुवा प्रणालीको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
मुख्यसचिव शंकरदास बैरागीले मुलुक बदलिँदो परिवेशमा रहेको बताउँदै देशभित्र र बाहिरका असल अभ्यासबाट सिकेर काम गर्नुपर्ने बताए ।