
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को आगामी वैशाख १० गते आइतवार हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि चैत १२ गतेसम्मको समय उपलब्ध गराएको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नम्बर २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।
आयोगले मंगलवार सार्वजनिक सूचना जारी गरी समयावधि दिइएको जनाएको छ ।
विद्यमान कानूनअनुसार सभाको रिक्त रहेको सदस्यका लागि उपनिर्वाचन हुने र निर्वाचनको मिति आयोगले तोक्ने व्यवस्था छ । सोबमोजिम आयोगको चैत ६ गतेको बैठकले ती क्षेत्रमा उपनिर्वाचनको मिति निर्धारण गरेको थियो ।
आयोगले यसअघि चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने गरी राजनीतिक दल दर्ताको कार्य सकाइसकेको छ ।