काठमाडौं, १५ भदौ- काठमाडौंको केन्द्रमा अवस्थित २०१४ सालमा स्थापना भएको श्री केश–चन्द्र विद्यालयमा जम्मा तीन जना विद्यार्थी छन् । सो विद्यालयमा शिक्षक/शिक्षिका संख्या भने चार रहेको छ । विद्यालयमा भर्नाको समयमा १२ जना पुगे पनि विद्यालय नियमित आउने विद्यार्थीको संख्या भने बढीमा तीन जना रहेको विद्यालयकी शिक्षिका विमला पौडेल बताउँछिन् । गुठीको भवनमा रहेको विद्यालयमा विद्यार्थीका लागि चाहिने सामान्य पूर्वाधार शौचालयसमेत छैन, राजधानी दैनिकमा खबर छ ।

त्यस्तै, १९१० सालमा स्थापना भएको ऐतिहासिक महत्व बोकेको दरबार हाई स्कुलको अवस्था पनि नाजुक छ । दरबार हाई स्कुलमा हाल १ सय ४८ विद्यार्थी अध्ययनरत छन् । दरबार हाई स्कुलमा १९ शिक्षकको दरबन्दी रहेको छ । राणाकालमा जंगबहादुर प्रधानमन्त्री भएको समयमा अंग्रेजी भाषा सिकाउने उद्देश्यले स्थापना भई वीर शमशेरले नयाँ शिक्षा प्रणाली लागू गरेर शिक्षा प्रणालीमा परिवर्तन ल्याएका थिए । शिक्षकहरूमा तालिमको व्यवस्थादेखि लिएर जेहेनदार विद्यार्थी लाई छात्रवृत्तिको व्यवस्था पनि गराएका थिए ।
सिनामंगलमा अवस्थित बालपीठ प्राथमिक विद्यालयमा पनि विद्यार्थी छैनन् । ५७ वर्षअघि स्थापना भएको सो विद्यालयमा जम्मा सात विद्यार्थी छन् । २०१६ सालमा स्थापना भएको र कुनै समय २ सय ५० जनासम्म विद्यार्थीलाई पठनपाठन गराएको उक्त विद्यालय अहिले दयनीय अवस्थामा पुगेको छ ।