
काठमाडौँ महानगरपालिकाले ज्यापू महागुथि र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका ८६ समूहलाई रु एक करोड ७२ लाख अनुदान रकम उपलब्ध गराएको छ ।
आज भएको कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले ६३ ज्यापू महागुथिअन्तर्गत परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन सङ्घअन्तर्गतका २३ समूह प्रत्येकलाई रु दुई लाखका दरले अनुदान रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रमुख साहले नदी सभ्यता र काठमाडौँवासीका परम्परागत चालचलनका बीचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताए ।
नदी सभ्यतालाई छुट््याएर काठमाडौँवासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो रहने हुनाले नदी सभ्यता जस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गर्नुपर्ने धारणा उनले राखे ।
उपप्रमुख सुनिता डङ्गोलले सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको उल्लेख गरिन् ।