
महोत्तरीमा एक मजदुरले आफूले काम गरेको ज्याला माग्दा चोरीको आरोपमा अमानवीय व्यवहार भोग्नुपरेको छ।
लोहारपट्टी नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय मोबारक नदाफलाई उनका साहुले चोरीको आरोप लगाउँदै बीच बजारमा पोलमा बाँधेर मोसो दल्नुका साथै कपाल मुण्डन गरी कुटपिट गरेका हुन्।
नदाफलाई पैसा दिन्छु भनी बोलाएर सोही ठाउँ बस्ने साहु ३४ वर्षीय कृष्णा मिश्र भनिने आनन्द मिश्रले पैसा दिनुको साटो चोरीको अरोप लगाएर कुटेका हुन्।
मुस्लिमहरूको पर्व रमदान चलिरहेको बेला नदाफ आफूले काम गरेको ज्याला माग्न साहु मिश्रले बोलाएको ठाउँमा पुगेका थिए। आफूले काम गरेको ज्याला पटक पटक माग्दासमेत नपाएका उनलाई बीच बजारमै साहु मिश्रले बाँधेर कुटेका उनले बताएका छन्।
नदाफले भने, 'धेरै दिनदेखि ठेकेदारसँग (मिश्र) मैले आफ्नो ज्याला मागेँ, तर दिन नमानेपछि रिस उठेर पैसा नदिए म ग्रिन्डर मेसिन र पंखा लैजान्छु भनेर त्यो औजारहरू घर लिएर आएँ । अनि चैत्र २३ गते ठेकेदारले मेरो सामान लिएर आउनु म पैसा दिन्छु भनेर लोहारपट्टीको चौकको शिव आश्रममा बोलायो, पछि जाँदा पैसा दिनुको सट्टा चोरीको अरोप लगाउँदै पोलमा बाँधेर मोसो दली हात बाँधेर कपाल मुण्डन गर्यो अनि कुट्यो।'
पछि स्थानीयको विरोध र प्रहरीलाई खबर गरेपछि मिश्र फरार भएका थिए। नदाफलाई भने स्थानीयको सहयोगमा प्रहरी उद्धार गरेको छ।
घटनापछि पीडित नदाफले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा चैत्र २७ गते उजुरी दिएका छन्। सोही दिन घटनामा संलग्न पीडक मिश्रलाई प्रहरीले पक्राउ गरेको छ।
महोत्तरी प्रहरी प्रवक्ता डीएसपी दिलीप गिरीका अनुसार ठेकेदार मिश्रमाथि कारबाही प्रक्रिया बढाइएको छ।
मिश्रले नदाफमाथि अमानवीय व्यवहार गरेको भन्दै स्थानीयले कडा कारबाहीको माग गरेका छन्।