
नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरूसँग सहकार्य गर्ने दलहरूले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन्।
बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमालेले संविधान नमानेको दलहरूले आरोप लगाउनुको अर्थ नभएको जिकिर गरे।
महासचिव पोखरेलले सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोसिस भइरहेको पनि बताए।
घोषित रूपमा संविधान नै नमान्ने पार्टीहरूसँगको सहकार्यले संसदीय मूल्य,मान्यतामाथि प्रहार गरिरहेको र जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता रहे पनि त्यसमाथि नै प्रहार भएको उनले आरोप लगाए।
नेकपा एमालेले संविधान नै मान्दैन भनेर आरोप लगाउनु जति मजाकको विषय अरू हुनै नसक्ने उनको भनाइ थियो।
महासचिव पोखरेलले नेपालको राजनीतिमा मुख्य दलहरू भनेको नेकपा एमाले र नेपाली कांग्रेस मात्रै रहेको दाबी गरे।
नेकपा एमाले सम्पूर्ण वामपन्थी शक्ति भनेकै नेकपा एमाले रहेको पोखरेलले दाबी गरे। सत्तारुढ दलहरूले आफ्नो चाहनाका लागि मात्रै अदालतको प्रयोग गर्ने गरेको उनको आरोप थियो।
उनले राजनीतिक अस्थिरताका कारण नै नेपाल बन्न नसकेको पनि बताए।