
बागमती प्रदेशसभाका सदस्यहरुले राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको पहिलो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यले आगामी आवको बजेट तर्जुमा गर्दा जनमुखी एवं जनताप्रति उत्तरदायित्व बोध हुनेखालको निर्माण गरिनुपर्ने सुझाव प्रस्तुत गरे ।
उनीहरूले सिन्धुपाल्चोकको केही भागमा बर्सातको समयमा बाढीपहिरोको प्रभावबाट जोगाउन आवश्यक तटबन्धन निर्माण गर्ने र पीडित परिवारलाई सरकारले अब पुनःबासको व्यवस्था गर्न र बस्ती जोगाउन दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने धारणा व्यक्त गरे ।
बैठकमा प्रदेशको १३ वटै जिल्लामा अहिले मौसमी खेतीपातीको लागि किसानलाई सुलभ तरिकाले मल उपलब्ध गराउनुपर्ने र किसानले उत्पादन गरेको बीउबिजन, हरियो तरकारी र फलफूललाई शीतभण्डारको व्यवस्था गरी पायक पर्ने बजारसम्म पु¥याउने व्यवस्था गर्न पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।
यसैगरी, प्रतिपक्षमा सांसदले प्रदेशको विभिन्न संवेदनशील वन्यजन्तु आरक्षमा डडेलोको प्रभावबाट वन्यजन्तु र पशुपन्छीलाई परेको क्षतिप्रति सरकारले गम्भीर भएर सम्बन्धित सरोकारसँग समन्वय गरेर प्रदेशको १३ वटै जिल्लामा स्थानीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्यहरूले कृषकलाई खेतीपाती गर्ने समय अघि नै प्रदेश सरकारको कृषि मन्त्रालयले सङ्घीय सरकारसँग समन्वय र सहकार्य गरेर खाद्यान्नलगायत अन्य तरकारी बाली लगाउनुअघि नै आवश्यक पर्ने मल खाद्य र विषादी औषधिको जगेडा राख्न पनि सरकारले कार्यतालिका बनाएर स्थानीय निकायलाई जानकारी गराउनुपर्ने माग गरे ।
यसैगरी स्वदेशी लगानी मै विद्युतीय स्कुटर, मोटरसाइकल निर्माण गरी उपभोक्तालाई सुलभ मुख्यमा वितरण गर्दै गरेको तर, सङ्घीय सरकारले उक्त उद्योगलाई राज्यको कानुनबमोजिम दर्ता गरी स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन गर्नेखालको कार्यक्रम ल्याउनपर्नेमा त्यसो नगरी हतोत्साही गरेकोमा मुलुकमा अब झन आर्थिक सङ्कट उत्पन्न हुने भएकोमा चिन्ता व्यक्त गरे ।
उक्त बैठकमा प्रदेशसभा सदस्यहरू क्रमशः रामकृष्ण चित्रकार, डा दिनेशचन्द्र देवकोटा, सरल सहयात्री पौडेल, उद्धव थापा, भरतबहादुर केसी, शैलेन्द्रमान बज्रचार्य, लक्ष्मण लम्साल, सुरजचन्द्र लामिछाने, युवराज चौलागाई, रमेशकुमार महतो, उर्मिला सुनुवार, श्रीराम लामिछाने, शान्त ढकाल, ठूला थामी र रत्नप्रसाद ढकालले आ–आफ्नो धारणा व्यक्त गरे ।