
एसीसी प्रिमियर कपका दुवै खेल वर्षाले प्रभावित भएका छन् । तर युएईविरुद्ध २३७ रनको लक्ष्य पछ्याइरहेको ओमान डिएलएस मेथडमा पछाडि पर्न पुगेको छ ।
दोस्रो इनिङको ४० प्रतिशत खेल सकिएपछि खेल नहुने स्थितिमा बल्ल यो मेथडबाट नतिजा निकालिन्छ ।
२३७ रन पछ्याउने क्रममा ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन मात्रै जोडेको छ । तर डिएलस मेथडमा ओमान युएईसँग ३ रनले पछाडि परेको छ । यो मेथडमा ओमानको लक्ष्य १९३ रन हुने देखिन्छ । तर उसले १९० मात्रै बनाएको छ । यसैले यो खेलमा २ रनले ओमान युएईसँग पराजित हुने देखिन्छ ।
वर्षाले खेल रोकिनु अघि ४३ ओभरको अन्तिम बलमा ओमानको विकेट गुम्नु नै उसका लागि दुर्भाग्यपूर्ण बन्न पुग्यो ।
अन्तिम बलमा विकेट नगइ डटमात्रै भएको भए ओमानले डिएलएस मेथडमा १८९ रनको लक्ष्य पाउने थियो । जतिबेला उसको रन १९० भइसकेको थियो ।
तर ४३ ओभरको अन्तिम बलमा विकेट जानु नै ओमानका लागि दुर्भाग्य बनिदियो ।
यता नेपालविरुद्ध कुवेतले २८२ रन पछ्याउने क्रममा घटाइएको ४२ ओभरको २० प्रतिशत ओभर खेलिसकेको छैन । यसैले खेलमा डिएलएस मेथडबाट हिसाब हुने छैन । तर वर्षाले खेल नै नहुने स्थिति आए नेपाल समूह विजेताको रुपमा फाइनलमा पुग्नेछ ।
दुवै खेल वर्षाले बिथोले नेपाल र युएईबीच फाइनल हुने देखिएको छ ।