
बेलायतका राजा चार्ल्स तृतीयको शासन संसारका १५ वटा देशमा छ ।
तर भोलि नै तीमध्ये आधा जति देशमा जनमतसंग्रह गर्ने हो भने त्यहाँका जनताले गणतन्त्रको पक्षमा मतदान गर्ने एक नयाँ सर्वेक्षणले देखाएको छ ।
कन्जर्भेटिभ पार्टीका पूर्व उपाध्यक्ष लर्ड याशक्रफ्टले गरेको अनुसन्धानबाट राजा चार्ल्सको चुनौती उजागर भएको छ ।
बेलायत बाहेकका १४ देशमध्ये अस्ट्रेलिया, क्यानडा, बहामास, जमैका, सोलोमन आइल्यान्ड्स, एन्टिगा र बार्बुडामा राजतन्त्र फाल्ने विषयमा लहर चलेको छ ।
ती बाहेक अन्य देशमा गरिएका सर्वेक्षणमा पनि राजतन्त्र र गणतन्त्रको पक्षमा लगभग बराबर मत छ ।
सेन्ट भिन्सेन्ट यान्ड द ग्रिनेडिन्स तथा टुभालु नामक देशमा मात्र बहुसंख्यक जनता यथास्थितिको पक्षमा छन् ।
तर बेलायतमै चाहिँ राजतन्त्रको पक्षमा बहुसंख्यक जनता अडिग रहेको सर्वेक्षणमा पाइएको छ । राजतन्त्रले स्थिरता दिने कुरामा बेलायतीहरू विश्वस्त रहेको यसबाट थाहा हुन्छ ।
तर राजपरिवार अस्तित्वमा रहने हो भने आधुनिकीकरण गर्नुपर्नेमा सबैजना सहमत छन् । राजपरिवारको खर्च पनि व्यापक कटौती गर्नुपर्ने उनीहरूको धारणा छ ।