
पत्रकार तथा साहित्यकार कमल रिजालको १४औं कृति सार्वजनिक भएको छ । धर्मदर्शन (प्रयोगात्मक) नामक कृति साझा प्रकाशनले प्रकाशित गरेको हो ।
स्वास्थ्य दर्शन, स्वभाव दर्शन र स्वधर्म दर्शन तीनखण्डमा विभाजित पुस्तकले दुःखको कारण पत्ता लगाई सरल ढङ्गले समाधान गर्ने तरिका सिकाउन खोजेको लेखक रिजालले बताए ।
उनका अनुसार स्थूल, सूक्ष्म र कारणगरी मानव शरीर तीन किसिमको हुन्छ । तिनमा लाग्ने रोग पनि तीनै किसिमकै हुन्छ, जसलाई व्याधि, आधि र अविद्या भनिन्छ । त्यस्तै उपचार पनि तीन किसिमकै हुन्छन्, जसलाई आसन, प्राणायाम र ध्यान भनिन्छ
'स्थूल शरीर भनेको हाडमासुले बनेको शरीर हो । यसमा लाग्ने रोगलाई व्याधी भनिन्छ, जसमा कफ, वात, पित्तजन्य समस्या पर्छन् । आसन यसको अचुक उपचार हो,' उनले भने, 'सूक्ष्म शरीर भनेको दस इन्द्रीय र अन्तस्करण चतुष्टयको संयुक्तावस्था हो । यसमा लाग्ने रोगलाई आधि भनिन्छ, जसमा हर्ष, शोक, डर, त्रास, आत्मग्लानी, मनोविसाद, प्राकृतिक प्रकोप आदि पर्छन् । यसको उपचारमा प्राणायाम रामवाँण मानिएको छ ।'
पुस्तकले यिनै कुराहरूको दिग्दर्शन गर्दै मानिसले आफूलाई कसरी स्वस्थ र निरोगी राख्न सक्छ भन्ने कुरा प्रष्ट्याउन खोजेको उनको भनाइ छ ।
पुस्तक काठमाडौँ, बिर्तामोड, धरान, विराट्नगर, राजविराज, जनकपुर, त्रिशूली, भरतपुर, बुटबल, पोखरा, दाङ र धनगढी आदि शाखा कार्यालयबाट प्राप्त गर्न सकिने साझा प्रकाशनले जनाएको छ ।