पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई नेशनल अकाउन्टाबिलिटी ब्युरोले हिरासतमा लिएपछि फैलिएको हिंसामा कम्तीमा आठजनाको मृत्यु भएको त्यहाँको डन पत्रिकाले खबर दिएको छ ।
हिंसामा २९० जना घाइते भएको अनि १९ सयजनालाई पक्राउ गरिएको बताइएको छ ।
इस्लामाबादस्थित विशेष अदालतले अल कादिर ट्रस्ट मुद्दामा अनुसन्धानका लागि खानलाई एनएबीको हिरासतमा आठ दिनसम्म राख्न अनुमति दिएको छ ।
मंगलवारदेखि नै भइरहेको हिंसा आज पनि चलिरहेको छ । प्रहरी र खानको पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) दलका कार्यकर्ताले बुधवार दिनभरि हिंस्रक भिडन्त गरेका थिए । हिंसाका कारण प्रहरी कार्यालय सहितका सरकारी भवनहरू क्षतिग्रस्त भएका छन् ।
बुधवार अबेर राति पीटीआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरी पक्राउ परेका थिए । त्यसअघि पार्टीका महासचिव असद उमरलाई प्रहरीले हिरासतमा लिएको थियो ।
परिस्थिति सम्हाल्नका लागि सरकारले पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामाबादमा सेना परिचालन गरेको छ । प्रदर्शनकारीहरूले लाहोरमा रहेको सेनाको कोर्प्स कमान्डरको निवास तथा रावलपिण्डीस्थित जंगी अड्डाको गेट भत्काएपछि सेना परिचालन गरिएको हो ।