माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
बैशाख ३१, २०८०
भारतको दक्षिणमा रहेको कर्नाटक राज्यमा गत साता भएको विधानसभा निर्वाचनमा विपक्षी कांग्रेस पार्टीले शानदार बहुमत ल्याएको छ ।
कुल २२४ सीट भएको विधानसभामा कांग्रेसले १३५ सीटका साथ स्पष्ट बहुमत हासिल गरेको हो । अघिल्लो चुनावको तुलनामा उसलाई ५५ सीटको फाइदा भएको छ ।
सत्तारूढ दल भारतीय जनता पार्टी चाहिँ सीट संख्या घटाएर ६६ मा सीमित भएको छ । अघिल्लो चुनावको तुलनामा उसले ३८ सीट गुमाएको हो ।
अनि कर्नाटकको क्षेत्रीय पार्टीका रूपमा रहेको जनता दल सेक्युलर (जेडीएस) ले पनि चुनावमा निकै कमजोर प्रदर्शन गर्दै जम्मा १९ सीट जितेको छ । अघिल्लो चुनावको तुलनामा उसले १८ सीटको क्षति बेहोरेको छ ।
राष्ट्रिय स्तरमा निकै कमजोर बन्दै गएको कांग्रेसलाई कर्नाटकमा प्राप्त बहुमतले सञ्जीवनी बुटीको काम गरेको बताइन्छ । अनि दक्षिण भारतका अन्य राज्यमा कतै पनि सरकार बनाउन नसकेको भाजपाले कर्नाटक समेत गुमाउनुपरेको छ ।
अहिलेको परिणाम आउनुमा विभिन्न कारणहरू जिम्मेवार छन् ।
कांग्रेस पार्टीले डीके शिवकुमारका रूपमा निकै बलियो नेताको समन्वयमा चुनाव लडेकाले फाइदा भएको हो । उनी कर्नाटकमा लिंगायतपछिको सबभन्दा ठूलो समुदायका रूपमा रहेको भोक्कालिगामा पर्छन् । त्यस समुदायको मत कांग्रेसमा पार्नका लागि उनले अथक मेहनत गरेका थिए ।
शिवकुमारसँगै कांग्रेसका अर्का ठूला नेता सिद्धरमैयाले विशाल संख्यामा मतदाताहरूलाई आकर्षित गर्न सकेका थिए । उनका प्रतिस्पर्धी बहालवाला मुख्यमन्त्री बासवराज बोम्मईसँग सिद्धरमैयाको जस्तो आकर्षणशक्ति थिएन
अनि चुनाव जित्नका लागि भाजपाले अपनाउँदै आएको धार्मिक ध्रुवीकरणको राजनीतिलाई यसपालि कांग्रेसले आफूअनुकूल उपयोग गरेकाले पनि फाइदा पुगेको देखिन्छ ।
कांग्रेसले हिन्दूवादी संगठन बजरंग दलमाथि प्रतिबन्ध लगाइने भनी घोषणा गरी भाजपालाई धार्मिक ध्रुवीकरणको जालमा फसाउने प्रयास गरेको थियो । कांग्रेसको यो कुरालाई प्रधानमन्त्री नरेन्द्र मोदीले बजरंगबली (हनुमान) माथिको आक्रमणका रूपमा प्रस्तुत गरी हिन्दूहरूलाई कांग्रेसप्रति घृणा उत्पन्न गराउन कोशिश गरेका थिए ।
तर बजरंगबलीको यो दाउ भाजपालाई घातक साबित भयो । यसले उल्टो मुसलमानहरूलाई एकजुट बनाउन योगदान गरिदियो ।
परम्परागत रूपमा जेडीएसलाई मत दिँदै आएका कर्नाटकका मुसलमानहरूले यसपालि भाजपालाई हराउन सक्ने शक्ति कांग्रेस नै भएको निष्कर्ष निकाल्दै उसैलाई आफ्नो भोट खन्याए । लगभग ८२ प्रतिशत मुसलमानले कांग्रेसलाई पत्याएको आँकडा सार्वजनिक भएको छ ।
अनि कांग्रेसले जातीय समीकरण पनि राम्ररी मिलाउन सकेकाले आफ्नो पक्षमा भोट प्राप्त गरेको देखिन्छ । अल्पसंख्यक, अन्य पिछडिएका वर्ग तथा अनुसूचित जातिलाई फकाउन कांग्रेस सफल भयो ।
कर्नाटकमा मुख्यमन्त्री रहिसकेका सिद्धरमैया अन्य पिछडिएका जातिअन्तर्गत पर्ने कुरुबा समुदायका हुन् । त्यस्तै कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगे दलित समुदायका हुन् । अनि डीके शिवकुमार भोक्कालिगा समुदायमा पर्छन् । यी तीनैजना नेताले आआफ्नो जातीय समुदायको भोट कांग्रेसमा पार्नका लागि व्यापक मेहनत गरेका थिए ।
यसबाहेक कांग्रेसले कर्नाटकका मतदातालाई विभिन्न कल्याणकारी योजनाहरूको प्रतिबद्धता व्यक्त गरेकाले पनि लाभ उठाउन सकेको देखिन्छ । गृहज्योति योजनाअन्तर्गत सबै घरमा मासिक २०० युनिटसम्मको बिजुली निःशुल्क गराइने, गृहलक्ष्मी योजनाअन्तर्गत सबै घरका मुख्य महिलालाई मासिक दुई हजार भारु दिइने, उचित प्रयाण योजनाअन्तर्गत कर्नाटकभरि सबै महिलालाई बसमा निःशुल्क यात्राको अवसर दिने लगायतका कार्यक्रम कांग्रेसले आफ्नो घोषणापत्रमा राखेको थियो । त्यसले महिला मतदातालाई कांग्रेसप्रति प्रबल रूपमा आकर्षित गर्न सफल भयो ।
त्यस्तै कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीले गरेको भारत जोडो यात्राको सकारात्मक असर पनि पार्टीलाई परेको देखिन्छ । शनिवार मतगणना हुँदै गर्दा पार्टीका सञ्चार प्रमुख जयराम रमेशले पदयात्राका क्रममा समेटिएका २० वटा विधानसभा सीटमा कांग्रेस अग्रस्थानमा रहेको विश्लेषण प्रस्तुत गरेका थिए । यात्राका क्रममा कर्नाटकमा मात्र गान्धीले लगभग २२ दिन बिताएका थिए र त्यसको सुखद परिणाम अहिले प्राप्त गरेका छन् ।
उता भाजपाले विभिन्न गल्ती गरेकाले चुनावमा हार बेहोर्नुपरेको देखिन्छ ।
पहिलो कुरा त, बासवराज बोम्मई जस्ता पटक्कै जनआकर्षण नभएका नेतालाई मुख्यमन्त्री बनाउनु नै भाजपाको भूल साबित भयो । कर्नाटक देशको आर्थिक केन्द्रमध्ये एक हो र त्यहाँको नेतृत्व गतिशील व्यक्तिको हातमा हुनुपर्थ्यो ।
प्रधानमन्त्री मोदीको करिश्मा कर्नाटकमा पनि चलिहाल्नेछ भन्ने रणनीतिका साथ भाजपाले उनैलाई केन्द्रमा राखेर चुनावी अभियान चलाउनु गल्ती भयो । भाजपाले प्रत्येक राज्यमा गतिशील र जनाकर्षक नेता तयार गर्नु जरूरी भइसकेको छ किनकि सबैतिर मोदीको नाम बिक्छ भन्ने हुँदैन ।
अनि भाजपाका विधायकहरू भ्रष्टाचार काण्डमा मुछिएकाले मतदाताहरू व्यापक रूपमा चिढिएका थिए । जीएच तिप्पारेड्डीलाई विभिन्न निर्माण तथा विकास परियोजनाका लागि आफूले ९० लाख भारु घूस खुवाएको भनी ठेकेदार मञ्जुनाथले आरोप लगाएका थिए ।
त्यस्तै राज्यका १३ हजारभन्दा बढी विद्यालयको प्रतिनिधित्व गर्ने दुईवटा संघसंगठनले मान्यता प्राप्त गर्नका लागि शिक्षा विभागलाई घूस खुवाउनुपरेको भनी प्रधानमन्त्री मोदीसमक्ष गुहार लगाएका थिए ।
अझ, भ्रष्टाचारनिरोधी निकाय लोकायुक्तले भाजपाका विधायक मदल विरुपाक्षको घरबाट ६ करोड भारु नगद र उनका छोरा प्रशान्तको कार्यालयबाट १.७५ करोड भारु बरामद गरेको थियो । यस्ता काण्डहरू सार्वजनिक भएपछि भाजपाप्रति कर्नाटकका मतदाताहरू विकर्षित भएका थिए ।
यसका साथै भाजपाले धार्मिक ध्रुवीकरणका लागि गरेको कोशिशले घाटा लगाएको देखिन्छ । हिजाब, हलाल गरिएको मासु, लभ जिहाद, मुसलमानहरूको आर्थिक बहिष्करण लगायतका विषयलाई भाजपाले आक्रामक रूपमा उठाएको थियो । अनि माथि पनि उल्लेख गरिएअनुसार, मोदीले बजरंगबलीको कुरा उठाउँदा जनताले नरुचाएको पाइयो ।
खासमा कर्नाटकका मतदाताहरू बढ्दो महंगी, भ्रष्टाचार र बेरोजगारीको समस्याबाट आक्रान्त छन् । त्यसको समाधानका लागि उपायहरू सुझाउनुको साटो धार्मिक ध्रुवीकरणको बाटोमा भाजपा हिँडेको मतदाताहरूलाई चित्त बुझिरहेको थिएन । कांग्रेसले चाहिँ विकास तथा कल्याणकारी योजनाको घोषणामार्फत मतदाताहरूको मन जित्न सफल भयो ।
अनि कर्नाटक भाजपामा विभिन्न गुटहरूले एकअर्कालाई असहयोग गरेकाले पनि पराजयमा योगदान गरेको देखिन्छ । राज्यमा भाजपालाई शून्यको स्थितिबाट अहिलेसम्म ल्याइपुर्याएका पूर्व मुख्यमन्त्री बीएस येदियुरप्पालाई सीमान्तीकृत गरियो । राज्यको सबभन्दा ठूलो लिंगायत समुदायका येदियुरप्पालाई यसरी किनारीकृत गरिँदा त्यस समुदायका मतदाताहरू भाजपाप्रति रुष्ट भए ।
त्यस्तै, अर्का पूर्व मुख्यमन्त्री जगदीश शेत्तारलाई चुनावमा टिकट नदिइएपछि उनी निराश भई पार्टी परित्याग गर्न पुगे । आफूलाई ब्राह्मणहरूले षड्यन्त्र गरी टिकटबाट वञ्चित गरेको आरोप उनले लगाए । उनी पार्टीबाट बाहिरिएपछि बनजिगा समुदायको मत भाजपालाई परेन ।
त्यसो त भाजपाले यस निर्वाचनमा आफ्नो भोट शेयर खासै गुमाएको छैन । सन् २०१८ को चुनावमा ३६.२ प्रतिशत भोट शेयर ल्याएको भाजपाले यसपालि ३५.८ प्रतिशत मत ल्याएको छ जुन जम्मा ०.४ प्रतिशतको कमी हो ।
तर कांग्रेसले पहिला ३८.१ प्रतिशत भोट ल्याएकोमा यसपालि ४.८ प्रतिशत वृद्धि गर्दै ४२.९ प्रतिशत मत सुरक्षित गरेको छ । जेडीएसले चाहिँ अघिल्लो चुनावको भन्दा ४.९ प्रतिशत कम भोट ल्याएको छ । अर्थात्, अघिल्लो चुनावको तुलनामा कांग्रेसले जेडीएसको सबै अनि भाजपाको अलिकति भोट आफूतर्फ तान्न सफलता पाएको छ ।
यस निर्वाचनले सन् २०२४ मा हुने लोकसभा निर्वाचनको परिणाममा असर पार्न सक्छ ।
यसै वर्ष राजस्थान, मध्य प्रदेश, छत्तीसगढ र तेलंगानामा पनि विधानसभा निर्वाचन हुन गइरहेको छ । राजस्थान र छत्तीसगढमा कांग्रेसको सरकार छ अनि कर्नाटकमा प्राप्त सकारात्मक परिणामले कांग्रेसलाई ठूलो हौसला दिएको छ । यी चार राज्यहरूमा कांग्रेसले थप राम्रो प्रदर्शन गर्न सकेमा लोकसभा निर्वाचनमा उसले भाजपालाई गतिलै चुनौती दिन सक्छ ।
तर दक्षिण भन्दा पनि उत्तर भारतका लोकसभा सीटले देशको राजनीति निर्धारण गर्ने गरेका छन् । उत्तर प्रदेशमा भएका स्थानीय निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत हासिल गरेबाट यस क्षेत्रमा उसको पकड अझै पनि बलियो रहेको देखिन्छ ।
अनि प्रधानमन्त्री मोदीले राष्ट्रिय सुरक्षा, राष्ट्रवाद तथा हिन्दूत्वको सिद्धान्तलाई आफ्नो राजनीतिक एजेन्डा बनाएकाले राष्ट्रिय स्तरमा त्यसको अपील अझै कायम रहेको आभास हुन्छ । केन्द्रमा मोदी, राज्यमा त्यहाँको बलियो स्थानीय नेतालाई मतदाताहरूले पत्याइरहेको स्थिति छ ।
त्यसैले आगामी लोकसभा निर्वाचनको प्रतिस्पर्धा रोचक हुने देखिन्छ तर विपक्षी गठबन्धनलाई मोदी सरकार अपदस्थ गराउन धेरै नै मेहनत गर्नुपर्ने स्थिति छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...