कात्तिक २०, २०७४
अमेरिकाका प्रेस सेक्रेटरी सीन स्पाइसरलाई केही दिनअघि नियमित पत्रकार सम्मेलनमा सोधियो, ‘डीप स्टेट भन्ने कुराको अस्तित्व छ ?’ उनले प्रस्टसँग छ कि छैनमा उत्तर दिएनन् तर यसको अस्तित्वलाई नकार्न नसकिने बताए । डोनाल्ड...
जेठ १४, २०८०
अमेरिकाका अग्रणी कूटनीतिकर्मी हेनरी किसिन्जर शनिवार (२७ मे) मा १०० वर्ष पुगेका छन् ।
कूटनीति तथा अन्तर्राष्ट्रिय राजनीतिको क्षेत्रमा किसिन्जरलाई भीष्मपितामहका रूपमा लिइन्छ । दोस्रो विश्वयुद्धपछिको अमेरिकी परराष्ट्रनीतिलाई बाटो देखाउने काम किसिन्जरले गरेको विश्लेषकहरू बताउँछन् ।
सन् १९६९ मा तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा नियुक्त भएका किसिन्जर पछि निक्सन प्रशासनमै परराष्ट्रमन्त्री भएका थिए । निक्सनपछिका राष्ट्रपति जेराल्ड फोर्डको प्रशासनमा पनि किसिन्जर नै परराष्ट्रमन्त्री थिए ।
त्यसो त सरकारमा सहभागी हुनुअघि नै उनले ड्वाइट आइजनहावर राष्ट्रपति हुँदाखेरीबाट रणनीतिका विषयमा सल्लाह दिँदै आएका थिए । हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय राजनीति प्राध्यापन गर्ने क्रममा नै उनी राजनीतिकर्मीहरूको निकट रही काम गर्न थालेका थिए ।
अन्तर्राष्ट्रिय सम्बन्धमा ‘रियलपोलिटिक’ को पक्षधरका रूपमा किसिन्जरले सुनाम र दुर्नाम दुवै कमाएका छन् ।
अमेरिकाको राष्ट्रिय स्वार्थलाई सर्वोपरि राख्दै किसिन्जरले अपनाएको परराष्ट्रनीतिका कारण विश्वभरि अमेरिकाको धाक जमेको भनी उनका प्रशंसकहरू तर्क गर्छन् । अनि शक्तिको प्रतिस्पर्धालाई केन्द्रमा राख्दै अमेरिकालाई अरूभन्दा माथि राख्नका लागि किसिन्जरले युद्ध तथा दमनलाई प्रोत्साहन गरेको भन्दै आलोचकहरू उनलाई युद्धअपराधीको संज्ञा समेत दिन्छन् ।
भियतनाम युद्धमा फसेको अमेरिकाले लिनुपर्ने नीतिका विषयमा किसिन्जरको रवैया विवादास्पद रह्यो । भियतनामबाट अमेरिकी सुरक्षालाई कुनै खतरा नरहेकाले त्यहाँ आफ्ना हजारौं सैनिकहरूको ज्यान जोखिममा पार्नु औचित्यहीन रहेको कुरा किसिन्जरलाई थाहा थियो । तर भियतनामबाट विजयी नभइकन बाहिरिँदा अमेरिकाको विश्वव्यापी छविमा नकारात्मक असर पर्ने निष्कर्ष निकाल्दै उनले युद्ध जारी राख्न निक्सनलाई सल्लाह दिएका थिए ।
उनको यस सल्लाहका कारण अनावश्यक रूपमा अमेरिकी सैनिकहरूको ज्यान गयो भने असंख्य भियतनामीहरू पनि मारिए । तर यससँगै उनी भियतनाममा शान्तिका लागि प्रयास पनि गरिरहेका थिए र सन् १९७२ मा उनले शान्ति हासिल गर्नै लागिएको घोषणा समेत गरेका थिए । त्यसको दुई वर्षपछि अमेरिका भियतनामबाट बाहिरियो अनि कम्युनिस्ट उत्तर भियतनाम विजयी भयो ।
भियतनाममा शान्तिको पहल गर्नुका पछाडि किसिन्जरको अर्को रणनीतिक दाउ थियो । उनी शीतयुद्धको प्रतिस्पर्धी मुलुक सोभियत संघलाई एक्ल्याउनका लागि चीनसँग सुमधुर सम्बन्ध बनाउने प्रयास गरिरहेका थिए ।
हुन त चीनसँगको सम्बन्ध सुधार्ने योजना किसिन्जरको भन्दा पनि निक्सनको भएको बताइन्छ । तर त्यसबाट सोभियत संघको घेराबन्दी गर्न सकिने देखेकाले किसिन्जरले निक्सनको योजनालाई मूर्त रूप दिन अथक प्रयास गरेका थिए ।
चीनको छिमेक भियतनाममा चलिरहेको युद्धलाई अन्त्य गर्दा चीन आश्वस्त हुने कुरा किसिन्जरले बुझेका थिए । अनि विश्वको सबभन्दा धेरै जनसंख्या भएको र ठूलो बजार बन्न सक्ने सम्भाव्यता बोकेको मुलुक चीनसँग अमेरिकाको सम्बन्ध सुध्रिँदा भूरणनीतिक लाभ प्राप्त हुने कुरा पनि किसिन्जर जस्ता तीक्ष्ण कूटनीतिकर्मीलाई जानकारी थियो ।
सन् १९६९ मा चीन र सोभियत संघबीच मन्चुरियाको वुसुली नदी सीमामा गोली हानाहान भएपछि किसिन्जरले चीनसँगको सम्बन्ध विस्तारका विषयमा गम्भीरतापूर्वक सोच्न थालेका थिए । उनी पाकिस्तानको बाटो भएर बेइजिङमा गोप्य रूपमा पुगेर माओ चतोङ र चाउ एनलाईलाई भेट्न पुगेका थिए ।
अनि जनगणतन्त्र चीनसँग अमेरिकाको कूटनीतिक सम्बन्ध कायम गराउनका लागि समन्वय गर्ने हिसाबमा निक्सनलाई चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनाउने प्रबन्ध पनि उनले मिलाएका थिए । उनको यस प्रयासका कारण सोभियत संघविरुद्ध अमेरिका र चीनको एक किसिमको अव्यक्त साझेदारी निर्माण भएको थियो ।
चीनसँगको सम्बन्ध सुधारकै क्रममा किसिन्जरले दक्षिण एसियामा भएको रक्तरञ्जित युद्धको समर्थन गरेको स्मरणीय छ । पाकिस्तानबाट छुट्टिएर बेग्लै देश बंगलादेश बनाउनका लागि चलाइएको संघर्षलाई दमन गर्न पाकिस्तान सरकारले चलाएको रक्तपातपूर्ण कारवाहीलाई अमेरिकाले समर्थन गरेको थियो । लगभग ३० लाख मानिसको नरसंहार हुने गरी भएको दमन रोक्नका लागि त्यहाँ खटिएका अमेरिकी वाणिज्यदूत आर्चर ब्लडको टेलिग्रामलाई किसिन्जरले बेवास्ता गरेका थिए ।
त्यस्तै सन् १९७३ मा चिलीको वामपन्थी समाजवादी सरकारलाई कूमार्फत हटाएर अगस्टो पिनोशेको नेतृत्वमा दक्षिणपन्थी नवउदारवादी सरकार ल्याई हजारौं मानिसको दमन गर्नुमा पनि किसिन्जरको हात छ । भूराजनीतिको डोमिनो सिद्धान्तअनुसार कुनै क्षेत्रमा कम्युनिस्टको उदय भएमा त्यसको प्रभाव अन्यत्र पनि पर्दै जान्छ र त्यसलाई रोक्नु अमेरिकाको कर्तव्य हो भन्ने सोच किसिन्जरको थियो ।
त्यसैले दक्षिण अमेरिकामा क्युबाली क्रान्तिको सिको गर्दै भएका वामपन्थी आन्दोलनलाई विस्तार गर्नबाट रोक्ने हेतुले किसिन्जरको सल्लाहमा निक्सनले चिलीमा दक्षिणपन्थी कू गराएका थिए । अर्जेन्टिनामा पनि उनले त्यही नीति अपनाएका थिए ।
सोभियत संघविरुद्धको शीतयुद्धमा प्रतिस्पर्धाका क्रममा अमेरिकाले विश्वका विभिन्न भागमा दक्षिणपन्थी तानाशाहहरूको समर्थन गरी लाखौं जनतामाथिको दमनलाई समर्थन गरेको थियो । त्यसमा संलग्न रहनु किसिन्जरको कलंक बन्न पुगेको छ ।
तर यससँगै उनले शान्तिका लागि गरेका प्रयास पनि उल्लेख गरिनुपर्छ । जस्तो, सन् १९७३ मा इजरायलका विरुद्ध अरब मुलुकहरूले शुरू गरेको योम किप्पुर युद्ध इजरायलले निकै क्षति बेहोरेर जितेको थियो । त्यसपछि दिगो शान्ति कायम गर्ने उद्देश्यका साथ किसिन्जरले इजरायली र अरबीहरूसँग धेरै चरणमा कूटनीतिक भेटघाट तथा वार्ता गरेका थिए । उक्त वार्ताको परिणास्वरूप इजरायलमाथि अरबीहरूले युद्ध गरेनन् तर प्यालेस्टाइन संकटको समाधान नभएकाले उक्त क्षेत्रमा अझै पनि शान्तिबहाली हुन सकेको छैन ।
अनि सोभियत संघसँगको तनाव घटाउनका लागि ‘डेटेन्टे’ नीति अपनाउनुको श्रेय पनि किसिन्जरलाई जान्छ । यस रणनीतिअन्तर्गत अमेरिकाले सोभियत संघसित आणविक हतियारको संख्या सीमित गर्नेसम्बन्धी सन्धि (साल्ट) र बलिस्टिक क्षेप्यास्त्र विरोधी सन्धि गरेको थियो । त्यसबाट संसारले आणविक युद्धको त्रासबाट केही भए पनि राहतको अनुभव गरेको थियो ।
त्यस्तै भियतनाम युद्ध अन्त्य गराउनका लागि भएको पेरिस शान्ति सम्झौता पनि उनकै सक्रिय पहलका कारण सम्भव भएको थियो । यसका लागि सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए तर अहिलेसम्म पनि त्यसलाई विवादित मानिने गरेको छ ।
यी सबै घटनाक्रममा संलग्न रही किसिन्जरले अमेरिकाको राष्ट्रिय स्वार्थको रक्षाका लागि प्रयास गरेका थिए । त्यसक्रममा उनले आदर्शवाद र भावुकतालाई परित्याग गरेकाले कतिपय प्रसंगमा उनी निष्ठुर र कठोर लाग्न सक्छन् ।
सन् १९७६ मा जिम्मी कार्टरले जेराल्ड फोर्डलाई राष्ट्रपति निर्वाचनमा पराजित गरेपछि किसिन्जर सरकारबाट बाहिरिए अनि किसिन्जर एसोसिएट्स नामक संस्था खोलेर परामर्श दिन थाले । उक्त संस्थाले शीतयुद्धको अन्त्यपछि विभिन्न मुलुकमा निजीकरणको लहर फैलाउनका लागि प्रमुख भूमिका खेलेको बताइन्छ ।
शीतयुद्धको अन्त्यपछि अमेरिकाको साम्राज्यवादी आकांक्षा चरमचुलीमा पुग्ने गरी एकध्रुवीयता कायम भएको थियो । त्यस्तो अवस्थामा अमेरिकाले आफूलाई चुनौती दिन सक्ने कुनै पनि शक्तिलाई उदाउन नदिने नीति अपनाएको थियो ।
किसिन्जरले त्यसको विपरीत धारणा जित्दै ‘डिप्लोमेसी’ नामक पुस्तकमा अन्तर्राष्ट्रिय प्रणालीमा पाँचवटा जति प्रमुख शक्ति हुने र तिनीहरूको राष्ट्रिय स्वार्थको मिलनविन्दुमा मात्र विश्व व्यवस्था कायम हुने तर्क गरेका थिए ।
किसिन्जरको यस भनाइलाई अमेरिकी प्रशासनले आत्मसात नगरी लोकतान्त्रिक मूल्यमान्यता बोकेको आफ्नो खेमा अनि निरंकुशताको पक्षपाती अर्को खेमाबीच भिडन्त हुने भाष्य स्थापित गरिदियो । परिणामस्वरूप, अहिले चीन र रुससँग अमेरिकाको कटुतापूर्ण सम्बन्ध बन्न पुगेको छ ।
हालै दी इकोनोमिस्ट पत्रिकासँगको कुराकानीमा किसिन्जरले तेस्रो विश्वयुद्ध रोक्ने हो भने अमेरिका र चीनले एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्नुपर्ने सुझाव दिएका थिए । अनि नेटोको स्वेच्छाचारी विस्तारबाट रुस चिढिने कुरा उनले गर्ने गरेका थिए तर अहिले आएर उनले युक्रेनलाई नेटोको सदस्य बनाउँदा बृहत्तर युद्धको सम्भावना टर्ने बताउन थालेका छन् ।
जे होस्, अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिमा किसिन्जरले पारेको प्रभावको उच्च मूल्यांकन हुने गरेको छ । उनका सुझावहरू अहिले पनि विभिन्न मुलुकका अधिकारीहरूले गम्भीरतापूर्वक सुन्ने गरेका छन् ।
किसिन्जरले ह्वाइट हाउस ईयर्स, ए वर्ल्ड रिस्टोर्ड, डिप्लोमेसी, अन चाइना, वर्ल्ड अर्डर, दी एज अफ एआई लगायतका गहन पुस्तकहरू लेखेर कूटनीति तथा विश्व राजनीतिका अध्येताहरूलाई ठूलो गुन लगाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्धको यथार्थवादी धारमा विश्वास गर्नेहरूका लागि किसिन्जर गुरु नै हुन् ।
अमेरिकाका प्रेस सेक्रेटरी सीन स्पाइसरलाई केही दिनअघि नियमित पत्रकार सम्मेलनमा सोधियो, ‘डीप स्टेट भन्ने कुराको अस्तित्व छ ?’ उनले प्रस्टसँग छ कि छैनमा उत्तर दिएनन् तर यसको अस्तित्वलाई नकार्न नसकिने बताए । डोनाल्ड...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...