दङ्गीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
गाउँपालिकाले तयार गरेको आधारभूत तह १ देखि ८ कक्षासम्मको स्थानीय विषयको पाठ्यक्रम ‘हाम्रो दङ्गीशरण’को मस्यौदाका बारेमा जानकारी दिन सरोकारवाला निकायसँग गरेको छलफल कार्यक्रममा जानकारी गराइएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले तयार पारिएको मस्यौदालाई सरोकारवालासँग थप सल्लाह, सुझाव माग गर्न अन्तरक्रिया आयोजना गरिएको बताए । उनले स्थानीय पाठ्यक्रम निर्माणपछि यहाँको सांस्कृतिक, धार्मिक र सामाजिक पक्षको उजागर हुने र यहाँको पहिचान स्थापित हुने अपेक्षा गरिएको बताए ।
छलफलका क्रममा पालिकाका पहिचान बोकेका स्थल तथा सांस्कृतिक सम्पदाहरूको विषयवस्तु थप गर्नु पर्ने लगायतका सुझावहरू आएको पालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिए ।
कार्यकममा वडा नम्बर ६ का वडाध्यक्ष रोशनजंग शाहले स्थानीय पाठ्यक्रम लागू भएसँगै यहाँको रहनसहन र यहाँ बसोबास गर्ने जातजातिको बारेमा एकअर्कालाई ज्ञान मिल्ने बताए ।
जिल्लाका ६ स्थानीय तहले आफ्नै पाठ्यक्रम निर्माण गरेर लागू गरेका छन् । विद्यालय तहबाटै विद्यार्थीलाई स्थानीयस्तरको विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले पालिकाहरूले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका हुन् ।
स्थानीय पाठ्यक्रम निर्माण गरेर तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका र बंगलाचुली गाउँपालिकाका विद्यालयहरूले १ देखि ८ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् ।
जिल्लामा सबैभन्दा पहिले तुलसीपुर उपमहानगरपालिकाले २०७८ सालमा ‘हाम्रो तुलसीपुर’ स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन शुरू गरेको थियो भने अन्य पालिकाहरूले गत वर्षदेखि लागू गरेका हुन् ।