
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई कारागार चलान गरेको हो । पुर्पक्षमा जेल चलान भएकाहरू अब मुद्दाको किनारा नलाग्दासम्म कारागारमै रहनेछन् ।
अदालतले अभियुक्त टङ्क गुरुङलाई रु १० लाख र लक्ष्मी महर्जनलाई रु पाँच लाख धरौटीमा छाड्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । जेल जानेमा बालकृष्ण खाण, टोपबहादुर रायमाझीसहितका हाइप्रोफाइलसमेत छन् ।
००००
कारागार लैजाने क्रममा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष रहेको बताए । आफूलाई उच्च अदालतले न्याय दिने उनको विश्वास छ ।
००००
नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो ।
फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । तर, बालकृष्ण खाणलाई भने कांग्रेसले पार्टीबाट हालसम्म निलम्बन गरेको छैन ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति भवनमा आयोजित समारोहमा उनले शपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।
संवैधानिक परिषद्ले उनलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद् समक्ष पठाउने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबार नै सुनुवाइ प्रक्रिया सकिएर नियुक्तिका लागि सिफारिस भएको थियो । उनी आगामी साउन २० सम्म प्रधानन्यायाधीश हुनेछन् ।
००००
संवैधानिक व्यवस्थाअनुसार ७ वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गरेका छन् ।
कोशी प्रदेशको अल्पमत सरकारले जेठ ३२ गते नै अध्यादेशमार्फत बजेट ल्याएको थियो भने बाँकी ६ प्रदेशले चाहिँ शुक्रबार बजेट ल्याएका हुन् ।
प्रदेशसभामा पेश भएको बजेटअनुसार चालु आर्थिक वर्षको तुलनामा ६ वटा प्रदेशको बजेट आकार घटेको छ । तर एक प्रदेशको बजेट आकार बढेको देखिएको छ ।
सातवटा प्रदेशमा कुल २ खर्ब ७९ अर्ब ६० करोड रुपैयाँको बजेट भएको छ । यो चालु आर्थिक वर्ष २०७९–८० को तुलनामा २५ अर्ब ८२ करोड रुपैयाँ कम हो । चालू आर्थिक वर्षमा ७ वटा प्रदेशको बजेट ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँको छ ।
चालु आर्थिक वर्षको तुलनामा कर्णाली प्रदेशको बजेट बढेको छ । तर, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको बजेट आकार घटेको छ ।
००००
राहदानी विभागले सेवाग्राहीलाई यही असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा रु पाँच हजारमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले रु १० हजारमा उपलब्ध गराउँदै आएको राहदानी यही असार ३ गते आइतबारदेखि रु पाँच हजारमा उपलब्ध गराउने भएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताइन् ।
००००
काठमाडौँ महानगरपालिकाको पटकपटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेश गर्न थालेका छन् ।
कामपाले एक साताअघि मात्रै सबै विद्यालयलाई नियमानुसार छात्रवृत्ति दिन र दिएको विवरण लिएर आउन निर्देशन दिएको थियो । निर्देशन दिएको केही दिनसम्म पनि निजी विद्यालयले विवरण लिएर नआएपछि कामपाले विवरण उपलब्ध नगराउने विद्यालयको नामनै सार्वजनिक गरी विद्यालय बन्द गर्ने चेतावनी समेत दिएको थियो ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन अभिभावक सबैलाई आग्रह गरेको हो ।
००००
नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ ।
६० वर्षीया विदेशी महिलामा एमपक्स संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
००००
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘आदिपुरुष’को विवादित अंश नहटाएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै मेयर बालेनले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा राखिएको आपत्तिजनक अंश हटाउन पहल गर्न अनुरोध गरेका हुन् ।
००००
गृह मन्त्रालयले कञ्चनपुरसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।
सरुवाको नियमित प्रक्रियाअनुसार सीडीओहरूको सरुवा र पदस्थापन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
००००
नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई ५० हजार जरिवानासहितको कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको छ ।
मेयर बालेन शाह नेतृत्वको टोलीले सिनामंगलस्थित जग्गामा लगाएको तारबार काटेर लगेको विषयमा प्राधिकरणले शुक्रवार शाहसहित तीन जनालाई स्पष्टीकरण सोधेको हो ।
००००
दक्षिण भारतीय अभिनेता प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ काठमाडौं उपत्यकाभित्रका हलमा पनि प्रदर्शनमा आएको छ ।
नेपालको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा फिल्म प्रदर्शनमा ल्याएको हो । यसअघि बालेन शाहले रोक लगाउने घोषणा गरेपनि आधिकारिक पत्र नआएपछि फिल्म चलाइएको बताइएको छ ।
००००
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहासचिव पुनलाई शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसहितका माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए ।