२७ जेठ २०८३, बुधबार

महानगरपालिकाले फोहोर नउठाएपछि उड्डयन प्राधिकरण कर तिर्न तयार

असार २३, २०८०
विराटनगर
महानगरपालिकाले फोहोर नउठाएपछि उड्डयन प्राधिकरण कर तिर्न तयार
प्रतिकात्मक तस्वीर

विराटनगर महानगरपालिकाले फोहोर नउठाएपछि विराटनगरस्थित नागरिक उड्डयन प्राधिकरण (विराटनगर विमानस्थल) महानगरलाई सबै किसिमको कर तिर्न तयार भएको छ । 

प्राधिकरणका विराटनगर प्रमुख सहितको टोलीले शुक्रवार महानगर प्रमुख नागेश कोइरालालाई भेटेर १ महिनाभित्र व्यवसाय, बहाल लगायतका कर तिर्ने र नक्सा पास नभएका भवनको नक्सा पास गर्ने प्रतिबद्धता जनाएको छ ।

राजस्व महाशाखा प्रमुख सरोज गौतम, वातावरण तथा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, महानगर प्रहरीका प्रमुख राजन पौडेललाई साथैमा राखेर प्रमुख कोइरालाले प्राधिकरणको प्रतिबद्धता मागेका थिए ।

प्रमुख कोइरालासितको भेटमा प्राधिकरणको टोलीले १ महिनाको समय मागेको थियो । १ महिनाभित्र पनि नक्सा पास नगर्ने र महानगरलाई तिर्नुपर्ने कर नतिरे फोहोर नउठाउनुका साथै निर्माणाधीन टर्मिनल भवनमा सामान लाने सडक समेत बन्द गरिदिने कोइरालाले चेतावनी दिए । महानगरवासीले तिरेको करबाट बनाएको सडकमा टर्मिनल भवन निर्माणका लागि सडकको क्षमताभन्दा बढी भार भएका मालबाहक सवारी महानगरको सडकबाट प्रवेश गर्ने गरेको प्रमुख कोइरालाले बताए ।

प्रमुख कोइरालाले प्राधिकरणले सटर भाडा लगाएर आम्दानी गर्ने, जहाज पार्किङ गरेबापत भाडा लिने, सेवा लिएबापत यात्रुसित कर लिने तर महानगरलाई अहिलेसम्म कुनै किसिमको कर नतिर्नु आपत्तिजनक भएको बताए । उनले स्थानीय सरकार सञ्चालन ऐनले तोकेको र संविधानले दिएको अधिकार प्रयोग गरेर जुनसुकै निकायलाई पनि करको दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाए ।
 

salt training

कमेन्ट गर्नुहोस्