
कांग्रेस महामन्त्री गगन थापाले पार्टी केन्द्रीय समिति बैठकमा १३ बुँदे धारणा प्रस्तुत गरेका छन् । सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा उनले आफ्नो १३ बुँदे धारणा प्रस्तुत गरेका हुन् । उक्त धारणालाई थापाले लिखित मतको रुपमा पार्टी बैठकमा दर्ज समेत गरेको बताएका छन् ।
थापाले विगत लामो समयदेखि शासकीय संरचनामा प्रवृत्तिकै रूपमा जरो गाडेर बसेको भ्रष्टाचार र कुशासनले गर्दा सरकार, राजनीतिक दल, राजनीतिकर्मी, नीति निर्माता, कर्मचारीतन्त्र लगायत राज्यका निकायप्रति व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा रहेको उल्लेख गरेका छन् ।
यस्तो प्रवृत्ति विरुद्ध पछिल्ला दिनमा नागरिक तहमा प्रतिरोध प्रारम्भ भएको पनि बताएका छन् । उनले कोही कुनै प्रकरणमा दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै अनुसन्धानलाई जिम्मेवार बनाउनका लागि प्रश्न गर्ने अधिकार सबैमा रहने उल्लेख गरेका छन् ।
थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेतालाई पार्टी सदस्यबाट निलम्बन गरिनुपर्ने धारण समेत राखेका छन् ।
राजनीतिक दलको जिम्मेवार ओहोदामा रहेका पदाधिकारीहरूको आचरण राजनीतिक नैतिकताको विषय भएको थापाले स्मरण गराएका छन् ।

