२६ जेठ २०८३, मंगलबार

‘महानगर’ फिल्मको काव्यात्मक ट्रेलर सार्वजनिक

साउन २४, २०८०
काठमाडौं
‘महानगर’ फिल्मको काव्यात्मक ट्रेलर सार्वजनिक

भदौका ८ गतेबाट देशभर प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र महानगर (वान नाइट इन काठमाडौं) को ट्रेलर सार्वजनिक गरिएको छ । कार्म र मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ । 

देश विदेशका थुप्रै फेस्टिभलमा सहभागी भई केही अवार्ड पनि जित्न सफल फिल्मको ट्रेलरले चलचित्र काव्यात्मक भएको छनक दिन्छ । ट्रेलरको सुरुमै मेनुकाका चरित्रले वाचन गर्ने कविता मात्र नभइ फिल्मको लय, संवाद र दृश्य संयोजनले पनि ट्रेलरलाई पृथक बनाएको छ । चलचित्रमा मेनुकाले महानगरको सपनाको बोझले थिचिएकी युवतीको भूमिका निर्वाह गरिरहेको संकेत पाइन्छ भने कार्म उनलाई त्यो बोझबाट निकाल्ने जिम्मेवारीमा छन् । 

सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य दुई चरित्रको जीवनमा सो रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको निर्माण टिमले बताउँदै आएको छ । यो चलचित्रमा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय छ । 

सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो । 

माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्स सँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको महानगरको लेखन तथा निर्देशन मोहन राईले गरेको हुन् भने चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आचार्यको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ । 

चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन भने नवनिधि दाहाल यसका क्रिएटिभ प्रोड्युसर हुन् । 

salt training

कमेन्ट गर्नुहोस्