भदौ २४, २०८०
विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको फोरम ‘जी २०’ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर भारतले आफ्नो कूटनीतिक सक्षमताको उम्दा उदाहरण प्रस्तुत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्ला...
काठमाडाैं | साउन ३२, २०८०
मितिः १७ फागुन २०७४ ।
स्थानः नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, काठमाडौं ।
समयः मध्याह्न ।
सई बालकृष्ण सञ्जेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए । अपरिचित नम्बरबाट फोन गर्ने व्यक्तिले सिधै भन्यो, ‘हेलो, म गोरे बोलेको । एउटा मान्छे इन्डियनले मारिदियो । यसको (शव) व्यवस्थापन गर्नुपर्यो ।’
अपराध अनुसन्धान विभागका प्रमुख थिए, तत्कालीन एसएसपी दिवश लोहनी (पछि एआईजीबाट अवकाशप्राप्त) । विभागमा हल्लाखल्ला भयो । उताबाट गोरेले शवदेखि घटनास्थलको फोटो/भिडियो समेत पठाइसकेको थियो । गोरेले पठाएका सन्देशहरू बालकृष्णले लोहनीलाई देखाए ।
घटनाबारे यकिन भएपछि टोली खटिने कुरा भयो । लोहनीले तत्कालीन डीएसपी प्रजित केसीको नेतृत्वमा टोली गइदिए हुन्थ्यो भन्ने मनसाय प्रकट गरे ।
खासमा जानुपर्ने थियो, ज्यानसम्बन्धी मुद्दा हेर्ने एक नम्बर पिलरको इन्चार्ज रविन कार्की । तर, उपत्यकाबाहिरको केसमा अपराधीसँग ‘नेगोसिएसन’का लागि उपयुक्त पात्र केसी हुने लोहनीको तर्क थियो ।
प्रजित (हाल एसपी, भक्तपुर परिसर प्रमुख) गुन्डागर्दी नियन्त्रण पिलरको इन्चार्ज थिए ।
उनी अपराधीसँग ‘नेगोसिएसन’ कसरी गर्ने भन्ने विषयमा अमेरिकाबाट लामै तालिम प्राप्त गरेका कमान्डर हुन् । विज्ञता प्रयोग गर्नका लागि लोहनीको ‘च्वाइस’मा उनी परेका थिए ।
तत्कालीन आईजीपी प्रकाश अर्याल बिदा बसिसकेका थिए । बमबहादुर भण्डारी निमित्त प्रहरी प्रमुख थिए । लोहनीले चेनअफ कमान्डअनुसार भण्डारीसँग अनुमति लिए ।
डीएसपी प्रजित सई बालकृष्ण र २ जवानलाई लिएर एउटा गाडीमा साँझ ६ बजे उर्लाबारीतिर लागे ।
प्रहरीसँग दोहोरो कुरा गर्दै भारत छिरे गोरे
‘हामी हिँड्यौं, एकजना डीएसपी’साप हुनुहुन्छ, ढुक्क हुनुस्’, बालकृष्णले गोरेलाई भने । गोरेले ‘कहाँ आइपुग्नुभयो ?’ भनेर बालकृष्णलाई तारन्तार फोन गरिरह्यो । बालकृष्णले गोरेलाई ‘डील’ गर्न सकेनन् ।
‘गोरेसँगबाट जसरी पनि शव बुझ्नु थियो । शव बेपत्ता भए केस ढिसमिस हुन्छ भनेर प्रजित’सापले चलाखीपूर्ण तबरले ‘नेगोसिएसन’ गर्न थाल्नुभयो,’ टोलीका एक सदस्यले लोकान्तरसँग भने ।
उनका अनुसार प्रजितले गोरेलाई शव व्यवस्थापन गरेर सहयोग गरिदिने भनेर ‘नेगोसिएसन’ गर्दै थिए । गोरेले आफूनिकट अर्का प्रहरी अधिकृतसँग पनि नियमित सम्पर्क गरिरहेको रहेछ ।
‘मलाई सहयोग गर्न डीएसपी प्रजित केसी आउँदैछन्,’ भनेर गोरेले आफूनिकट प्रहरी अधिकृतसँग सूचना आदान–प्रदान गरेछ ।
ती अधिकृतले भनेछन्, ‘तँलाई प्रजित केसीले सहयोग गर्छ जस्तो लाग्छ ? तेरो ज्यानै लिन सक्छ, त्यहाँबाट भागिहाल ।’
यो कुरा गोरेले पछि प्रहरीसँगको बयानमा पनि स्वीकारेका छन् । ‘प्रजितले सहयोग गर्दैन भनेर मलाई अर्को प्रहरी अधिकृतले भनेका हुन् । त्यही भएर इन्डियातिर भागेको हुँ,’ बयानका क्रममा गोरेले भनेका छन् ।
गोरेले शुरूमा उर्लाबारी बोलाएको थियो । प्रहरी टोलीले निर्वाण होटल छेउको चारकोशे झाडीमा भेट्ने कुरा गरेको थियो । पछि उसले भानु चोकमा बोलायो । रातको करीब २ बजेतिर एकजना मान्छे गाडीमा सरर आयो । गाडीबाट झरेर चोकमा उभियो ।
‘गोरे खोइ ?’, प्रजितले सोधे ।
‘दाइ त इन्डिया गइसक्नुभयो’, गाडी चलाएर आएको व्यक्तिले जवाफ दियो ।
प्रजितको टोलीलाई एउटै चिन्ता थियो, शव चारकोसे झाडीमा फ्याँके वा कोशीमा बगाए ।
प्रजितले सोधे, ‘लास खोइ ?’
‘गाडीमा छ ।’
‘दाइ (गोरे)लाई फोन लगाऊ ।’
फोन लागेन । प्रजितले फेरि अह्राए, ‘भाउजू (गोरेको श्रीमती)सँग भारतको नम्बर माग ।’
गोरेकी श्रीमतीले भारतको नम्बर दिइन् । तत्कालै त्यो नम्बर केसीले लोहनीलाई पठाए ।
घटना भएको ठाउँ भानुचोक नभएकाले उनले शव हेरेनन्, हेरेको भए त्यही मुचुल्का उठाउनुपर्ने बाध्यता हुन्थ्यो । सबै इटहरीतर्फ लागे ।
यता लोहनीले गोरेको टेलिफोन ‘ट्रेस’ गरिसकेका थिए । गोरे कोलकत्ता पुगेको थाहा भयो । उनीहरूलाई लागेछ, अब गोरे कोलकत्ताबाट अन्तर्राष्ट्रिय उडानमार्फत तेस्रो मुलुक जाँदैछ ।
बिहान ४ बजेतिर इटहरी पुगेर एउटा होटलमा बसे । शव भएको गाडीलाई पार्किङमा राखेर माथि झ्यालबाट हेर्दै एकछिन आराम गरे ।
त्यतिबेलासम्म विराटनगर, धरान, इटहरी सबै कमान्डमा खबर गरिसकेका थिए, प्रजितले । सहयोगका लागि ‘अलर्ट टीम’ तयारी अवस्थामा थियो ।
शव राखेको गाडीका चालकको माध्यमबाट अन्य दुईजनालाई इटहरीमै फेला पारियो । उनीहरूले रुँदै भने, ‘गोरेले हामीलाई बेस्सरी यातना दियो ।’
त्यसपछि गाडीको डिक्की खोल्दा सनम शाक्यको शव फेला पर्यो । यातना दिन प्रयोग गरिएको करेन्टको तार सबै गाडीमै फेला पर्यो । विराटनगरका एसपी अरुण जिसीसहितको टीमले शवको मुचुल्का उठायो ।
त्यतिबेला गोरे आफैं नेपाल आओस् भन्ने सोचेर उसको नाम नराखी मुचुल्का प्रतिवेदन बुझाएको अनुसन्धानमा संलग्न एक अधिकारी दाबी गर्छन् ।
‘गिरफ्तारीमा परेका तीन जनाले गोरेलाई पोल्छन् । त्यसलाई गोप्य राखेर उसलाई स्वदेश बोलाउन सकिन्छ भन्ने निष्कर्षका आधारमा गोरेको नाम उल्लेख नगरी मुचुल्का प्रतिवेदन बुझाइएको थियो,’ ती अनुसन्धान अधिकारीले भने ।
गोरे र ‘३३ किलो’ सुनको कथा
सनम हत्यामा संलग्न मुख्य नाइके गोरे नै हो भन्ने जानकारी पक्राउ परेका तीन जनाबाट भइसकेको थियो । आखिर गोरे को थियो त ? पहिले पनि उसको वास्तविक नाम थाहा नभएर सीआईबीले एउटा अनुसन्धान थाती राखेको रहेछ । पक्राउ परेकाहरूले सुन हराएपछि आफूहरूलाई यातना दिइएको र त्यही क्रममा सनम शाक्यको हत्या भएको बयान दिए ।
गोरेको नाम पछि थाहा भयो, चुडामणि उप्रेती । सबै छानबिन हुँदै जाँदा ३३ किलो सुन हराएको भन्ने बयान आयो । एयरपोर्टबाट पास भएको सुन अनामनगरबाट हराएको बयान उनीहरूले दिए ।
हराएको भनिएको सुन कहाँ गयो अहिलेसम्म कुनै अत्तोपत्तो छैन । बरु यो ३३ किलो सुन काण्डका रूपमा चर्चित छ । सुनकै कारण सनमको हत्या भएको अनुसन्धानमा फेला परेपछि पहिलो चरणको अनुसन्धानमा संलग्न अपराध अनुसन्धान विभागकै टोली छानबिनको घेरामा पर्यो ।
‘सनमका हत्यारा र सुन तस्कर गोरे उर्फ चुडामणि उप्रेतीलाई भगाएको, पैसा बार्गेनिङ गरेको’ भनेर प्रजितमाथि नै छानबिन थालियो ।
तर, प्रजितले छानबिन समितिलाई दिएको बयानमा उक्त आरोप खण्डन गरेका छन् ।
‘मुख्य दोषीसम्म पुग्नकै लागि नेगोसिएसन गर्ने, फकाउने रणनीतिका लागि विभागीय प्रमुख लोहनी र तत्कालीन निमित्त प्रहरी प्रमुख भण्डारीसँग पनि अनुमति लिइएको उहाँको बयान छ,’ एक प्रहरी अधिकारीले लोकान्तरसँग भने ।
‘गोरेलाई फकाएर सहयोग गर्छौं भन्ने, पैसाको बार्गेनिङ गर्ने, उनीहरू ठूलो संख्यामा रहेछन् र खतरा आइपर्यो भने सुट गर्ने आदेश समेत टोलीलाई थियो,’ टोलीका एक सदस्यले लोकान्तरसँग भने ।
छानबिनदेखि अदालतसम्म
छानबिनका आधारमा हेर्दा ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७४ माघ ८ गते बाहिरिएको थियो ।
त्यहीबेला सुन बेपत्ता भएपछि गोरेले भरिया सनम शाक्यको हत्या गरे । एकजना एयरपोर्टमै दुर्घटनामा पारी मारिए भने अर्का एकजनाले हिरासतमै आत्महत्या गरे ।
गोरेलाई इन्टरपोलको सहयोगमा २०७५ जेठ ८ गते भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।
प्रहरीमाथि नै अनुसन्धान गर्नुपर्ने भएपछि सह–सचिव ईश्वरी पौडेल, तत्कालीन एसएसपी वसन्त लामा, डीएसपी सुदीप पाठक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहितको छानबिन समिति बनेको थियो ।
छानबिनका क्रममा प्रजितले अपरेसनमा जाँदा विभागीय प्रमुखसँग भएको कुराकानी र आदेशको फोन रेकर्ड नै उपलब्ध गराए । तर बाहिर पैसाका लागि बार्गेनिङ गरेको, सल्लाहमै भगाएको भन्ने कुरा छ्यापछ्याप्ती भइसकेको थियो ।
त्यसैको आधारमा छानबिन समितिले लोहनी, केसी, सञ्जेल, गोविन्द निरौला र परशुराम खत्रीलाई आरोपित गर्यो ।
प्रजित २२ दिन विराटनगरस्थित प्रहरी हिरासतमा बसी पुर्पक्षका लागि कारागार चलान भए । पाँच महिना कारागार बसाइपछि उच्च अदालत विराटनगरले उनलाई सफाइ दियो ।
छानबिन समितिले आरोपित गरेका कसैमाथि पनि आरोप पुष्टि भएन । प्रजितको टीमले प्रमाणसहित पक्राउ गरेकाहरू भने अहिले कैद भुक्तान गरिरहेका छन् । समितिद्वारा आरोपित सबैले सफाइ पाइसकेका छन् ।
३३ किलो सुनबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत समितिले ठूलै काम गरेको जस्तो कुरा सुनाएछन् । प्रहरीहरूलाई पनि कारबाहीको दायरामा लिनुपर्छ भनेर ओलीले त्यतिबेला निर्देशन दिएका थिए ।
गोरेसहितका अभियुक्तहरूले आफूले गरेको अपराधको सजाय भोगिरहेका छन् । केही निर्दोष सावित भएकाहरू आफ्नो पुरानै दैनिकीमा फर्किएका छन्, तर ३३ किलो सुन अझै रहस्यकै गर्भमा छ ।
कसले चोर्यो, कहाँ पुर्याइयो, त्यसको कुनै सुराक समेत उपलब्ध छैन ।
विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको फोरम ‘जी २०’ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर भारतले आफ्नो कूटनीतिक सक्षमताको उम्दा उदाहरण प्रस्तुत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्ला...
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नका लागि तीन हप्ताको समय बाँकी रहँदा देशभर चुनावी रौनक बढेको छ । कात्तिक १७ गतेदेखि मात्र उम्मेदवारले झण्डा लिएर औपचारिक रूपमा घरदैलो शुरू गर्न पाउने भए प...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...