
लियोनल मेसी भन्नेबित्तिकै विश्वभरका अधिकांश फुटबल समर्थकले सर्वकालीन महान् खेलाडी भन्ने बुझ्छन् ।
हुन पनि अर्जेन्टिनी मेसीले आफूले खेलेकामध्ये अब जित्न बाँकी कुनै फुटबल प्रतियोगिता छैन । गत वर्ष कतारमा आफ्नै कप्तानीमा विश्वकप जितेसँगै उनी फुटबलमा थोरै सफलमध्ये एक खेलाडी बन्न सफल भए ।
मेसीले अर्जेन्टिनाका लागि विश्वकप, कोपा अमेरिकासँगै फाइलिसिमाको उपाधि जितेका छन् । यस्तै, चार वटा च्याम्पियन्स लिग, १० वटा स्पेनिस ला लिगा, दुईवटा फ्रेन्च लिग वानलगायत क्लब फुटबलका सबै उपाधिको ओइरो पनि मेसीसँगै थुप्रिएको छ । यसबीचमा उनले सातवटा बालोन डि‘ओर पनि जितिसकेका छन् । यसको छेउछाउमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो मात्र छन् उनी पनि दुईले पछि छन् । ३८ वर्ष पुगेका उनले अब मेसीलाई बालोन डि‘ओरमा भेट्टाउन गाह्रो छ ।
युरोपको क्लब फुटबल र अन्तर्राष्ट्रिय फुटबलमा सबैखाले उपाधि जितेर ३५ वर्ष पुगेपछि यसै साल मेसी अमेरिकातिर लागे । तर, उनी त्यहाँ पनि सुरुवातीमा अब्बल साबित भएका छन् । उनको नेतृत्वको इन्टर मायमीले किंग्स कपको उपाधि जितेको छ । त्यो पनि पहिलोपटक । यससँगै उनले कीर्तिमानी ४४ औँ उपाधि जितेका छन् । अमेरिका पुगेपछि पहिलो उपाधि जित्ने क्रममा मेसीको मायमीले शनिबार नेशभिल्लेलाई पेनाल्टी सुटआउटमा १०–९ गोलले पराजित गरेको हो ।
९० मिनेटसम्म खेल १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटाबाट मेसीको टिम विजयी बनेको हो ।
मेसीले २३ औं मिनेटमा शानदार गोल गर्दै टिमलाई अगाडि अग्रता दिलाएका थिए । तर, ५७ औं मिनेटमा नाशभिल्लेले बराबरी गोल फर्काएको थियो ।
मेसीले सात खेलमा १० गोल गर्दै आफूलाई अमेरिकामामा पनि अब्बल सावित गर्न सफल भए । उनी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी समेत घोषित भए । साथै, सर्वाधिक गोल गर्ने खेलाडी पनि उनै बने ।
किंग्स कप उत्तर अमेरिकी क्षेत्रको ठूलो क्लब प्रतियोगिता हो । यहाँ अमेरिका, मेक्सिको र क्यानाडाका क्लबले प्रतिस्पर्धा गरेका थिए ।