
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा बस्नका लागि अनुचित काम नगर्ने बताएका छन् । उनले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न की भन्ने लागे पनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताए ।
मंगलवार बुटवलमा समाजवादी मोर्चा नेपाल लुम्बिनीको सन्देशसभालाई सम्बोधन गर्दै उनले सरकारमा बस्नका लागि गलत काम नगर्ने बताए । ‘प्रतिपक्षी साथीले संसदमा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ’ दाहालले भने । उनले एमसीसीका विषयमा आफू प्रधानमन्त्रीको रुपमा धेरै बोल्न नमिल्ने बताउँदै देशको स्वाधीनता र राष्ट्रिय हित लागि जनयुद्धमा जस्तै गरी लडिराखेको बताए ।
उनले अनुदान लिएर देशको हितमा विकास गर्ने गरी योजनालाई अगाडि बढाउने बताए ।
अध्यक्ष प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध समाजवादी मोर्चा बनेको बताए । उनले अहिले प्रतिक्रियावादी शक्तिहरू जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्ट्याउने प्रयत्नमा लागेको बताए ।
अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनका मुख्य शक्तिहरू अहिलेको मोर्चामा रहेको बताए । ‘यो मोर्चाभन्दा बाहिर रहेका शक्तिहरू नक्कली हुन्’ अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने ‘पटक–पटक संविधान मिचेर संसद विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन ।’
उनले अहिलेको गणतन्त्र दलाल पुँजीवादी गणतन्त्र भएको भन्दै मुलुकका लागि जनगणतन्त्रभन्दा माथिको समाजवादी गणतन्त्र चाहिएको बताए । ‘गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरूको, श्रमिक वा पूँजीपतिहरूको हुने हो, त्यसैको लागि यो मोर्चा बनेको छ’ प्रचण्डले भने ।
जनगणतन्त्रबाट माथिबाट उठेर समाजवादी मोर्चा गणतन्त्रको लडाइँमा रहेको उनले बताए । ‘एक्लै लडेर यो लडाइँ एक्लै जित्न सकिँदैन, यसका लागि मित्रहरूको खोजी गरिनुपर्छ’ उनले भने, ‘नेपालमा अहिले परिवर्तन उल्ट्याउन जातीय द्वन्द्व निम्त्याउ खोजिँदैछ’ उनले भने ।
समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नका लागि मोर्चाबन्दी गरिएको भएपनि घेराबन्दी शुरू भएको उनले बताए । गाउँका गरिब, सामान्य मानिसहरूले शासन गरेको नपचेकाले घेराबन्दीका षडयन्त्र भइरहेको उनको आरोप थियो ।
आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा दोहरिनका लागि मात्रै नभई देशमा केही गर्ने गरी बनेको बताए । उनले सुशासनको पक्षमा सरकारले काम गरेकोले आम जनतामा केही हुन्छ भन्ने आशा र भरोसा जागेको बताए ।
भ्रष्टाचार नियन्त्रण, सुशासनका पक्षमा सरकार लागि परेको बताउँदै उनले अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकसँग निरन्तर छलफल गरिरहेको बताए ।
जनताको पक्षमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले त्यसका लागि आवश्यक परे समाजवादी मोर्चाले लाखौं जनतालाई सडकमा ल्याउनुपर्ने बताए ।
उनले विप्लव नेतृत्वको नेकपा पनि मोर्चामा भएकोमा खुशी प्रकट गर्दै जनयुद्धका सबै शक्ति एक जुट हुनुपर्ने बताए ।